उत्तर कोरियाका नेता किम जोङलाई रोक्न चीनले मात्र सक्छ !

काठमाडौं, असोज १३ – उत्तर कोरियाले गरेको हाइड्रोजन बमको सफ परिक्षण र सयौँ मिसाइलको परिक्षणपछि विश्वको ध्यान उत्तर कोरियामा छ । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच चलेको वाकयुद्धले पनि पछिल्लो समय चर्चा पाइरहेको छ ।

 

उत्तर कोरियाले अमेरिकामाथि युद्धको सुरुवात गरेको आरोप पनि लगाएको छ । उत्तर कोरियाका विदेशमन्त्री रि योङ–होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशसँग युद्धको सुरुवात गरेको आरोप लगाउनु भएको हो । अमेरिकाले उत्तर कोरियामाथिबाट आफ्ना बम बर्सक लडाकु विमान उडाएपछि उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको थियो । बम बर्सक विमान आफ्नो देशमाथिबाट उडाएर अमेरिकाले युद्धको सुरुवात गरेको उत्तर कोरियाका विदेशमन्त्री रिले बताउनुभएको हो । उहाँले आफ्नो देशको आकाशमा उडेका अमेरिकी बम बर्सक विमान खसाल्ने चेतावनी समेत दिनुभएको थियो ।

अमेरिकाले पटक पटक उत्तर कोरियासँग झगडा गरेर युद्धको सुरुवात गरेको र यो कुरा विश्वले थाहा पाउनुपर्ने पनि विदेशमन्त्री रिको भनाई थियो । तर अमेरिकी रक्षा मन्त्रालयले भने उत्तर कोरियाले युद्धको लागि अमेरिकालाई उक्साइरहेको र यो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विक्षिप्त रहेको र प्रमाणु हतियार बनाउने आफ्नो देशको निर्णयलाई ट्रम्पले सही साबित गरेको दाबी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाको गतिविधिले आफूहरु आत्मरक्षाका लागि सैन्य रुपमा तयार हुन बाध्य भएको र उत्तर कोरियालाई पूर्ण रुपले ध्वस्त पार्ने बताउनुभएको थियो । 

ट्रम्पको भनाईको जवाफमा उत्तर कोरियाका नेता किमले राष्ट्रिय सञ्चारमाध्यम मार्फत विज्ञप्ती जारी गर्दै अमेरिकाले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले यो समस्याको समाधान गर्न चीनले सक्ने तर चीनले झनै उत्तर कोरियालाई उचालिरहेको आरोप लगाउनुभएको छ । चीनले चाहेमा उत्तर कोरियाका नेता किममाथि लगाम लगाउन सक्ने अमेरिकाको मान्यता छ । बिबिसीको रेडियो सिरिज ‘द इन्क्वाइरी’ मा चीन र उत्तर कोरियासँग नजिक रहेका विश्लेषकसँगको कुराकानीमा पनि चीनले चाहेमा उत्तर कोरियालाई रोक्न सक्ने बताइएको थियो ।

गएको महिना उत्तर कोरियाले परमाणु परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबिचको तनाव थप बढेको हो । परमाणु परीक्षणलाई लिएर उत्तर कोरियामाथिको प्रतिबन्ध संयुक्त राष्ट्रसंघले थप कडा बनाएको छ । यस्तै अमेरिकाले पनि उत्तर कोरियामाथिको प्रतिबन्ध कडा बनाएको छ । शुक्रबार चीनले पनि आफ्नो भूमिमा संचालित उत्तर कोरियाली कम्पनी बन्द गर्न निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धको कार्यान्वयनका लागि चीनले पछिल्लो निर्देशन दिएको हो । उत्तर कोरियाली कम्पनीहरु आगामी जनवरीभित्र बन्द गरिसक्नुपर्नेछ भने संयुक्त लगानीका कम्पनी पनि बन्द गरिने बिबिसीले जनाएको छ । उत्तर कोरियाको समर्थकमध्येको एक राष्ट्र चीनले यसअघि नै कपडा आयात तथा तेल निर्यातमा प्रतिबन्ध लगाएको थियो  । 

उत्तर कोरियालाई राजनीतिक तथा आर्थिक रुपमा एक्लाइएको छ भने उसका धेरै व्यापार चीनसँग हुने गरेको छ । उत्तर कोरियाले आफ्नो छैठौ ठूलो तथा शक्तिशाली आणविक परिक्षण गरेपछि अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *