विपद् जोखिम न्यूनीकरण विधेयक सर्वसम्मतिबाट पारित

काठमाडौं, असोज ९ । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ ’ सर्वसम्मतिले पारित भएको छ । गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आजको संसद् बैठकमा राख्नुभएको थियो । विधेयकको दफावार छलफलमा भाग दिँदै नेकपा (एमाले)का डा गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण बनाउन सुझाव दिँदै व्यवस्थापन प्राधिकरणमा विषय विज्ञ राख्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्मअनुरूप विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्ने धारणा राख्नुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपद्को परिभाषाको दायरालाई फाराकिलो बनाउन सुझाव दिनुभयो । गृहमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफमा प्राकृतिक जोखिममा नेपाल रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण गर्न विधेयक ल्याइएको बताउनुभयो ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । पत्र मन्त्रिपरिषद् विस्तारसंग सम्बन्धित थियो । बैठकमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘कर्मचारी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ सदनसमक्ष पेश गर्नुभयो ।

बैठकमा अर्थसमितिका सभापति प्रकाश ज्वालाले अन्तर सरकारी वित्त व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४ पेश गर्दै संघीयता कार्यान्वयन गर्न ती विधेयकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विधायन समितिका सभापति गंगा चौधरीले विभिन्न पाँचवटा प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुभयो । बैठकमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, २०७२÷०७३ को समीक्षा प्रतिवेदन पेश गर्नुभयो । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ सदनसमक्ष प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =