यसो गरेको भए तराईमा एमालेको स्थिति कांग्रेसको भन्दा राम्रो हुन्थ्यो

काठमाडौं, असोज ९ । स्थानीय तेस्रो चरणको दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये पाँच तहका नतिजा आउँन बाँकी रहेको छ । अहिलेसम्मको नतिजामा दुई नम्बर प्रदेशमा काँग्रेसपछि संघीय समाजवादी फोरमको अग्रता रहेको छ । पहिलो रहेको काँग्रेसले ३८ तहमा जित हात पार्दा फोरमले २५ स्थानीय तहमा जित हात पारेको छ । तराईमा जारी निर्वाचनलाई नियालेर दशैँको मुखमा काठमाडौँ फर्किएका उनै फोरमका अध्यक्ष उपेन्द्र यादव के भन्छन् त ! उनको बोली जस्ताको तस्तै :

राजपाको स्थिति त अब के भन्ने ? कसैले आएर राजपामा ६ वटालाई एक ठाउँमा पारिदिए । ६ तिर टाउको फर्किएको छ । विचार सिद्धान्त केही पनि छैन । विचार र सिद्धान्तविहीन गठजोड हो । तिनका आपसी तालमेल सम्भवै छैन । उनीहरुको कुनै गन्तव्य नै छैन । खाली मधेसी र पहाडी गाली गरेर त हुँदैन राजनीतिमा । त्यसले त एउटा सेन्टिमेन्ट ल्याउनेमात्रै हो । त्यसैले राजपामा त्यत्रो आशिर्वाद हुँदाहुँदै पनि, त्यत्रो साधन स्रोत विशाल संख्यामा परिचालन हुँदाहुँदै पनि त्यस अनुसारको उहाँहरुले परिणाम ल्याउन सक्नुभएन ।

हाम्रो कुरा गर्नुहुन्छ भने हामीलाई अभिमन्यु चक्रव्युहमा फसेको जस्तै हामीलाई फसाइएको थियो । चारैतिरबाट आक्रमण, गालीगलौच यो सबै व्यहोरेर हामी चुनावमा गयौं । फेरि हामी निहत्था थियौं लडाइँमा । हामीसँग साधन स्रोत केही थिएन । यो अवस्थामा हामीले जनताको भरमा र विश्वासमा लड्यौं । हामीलाई जनताले साथ दिए । यो परिस्थितिमा हामीलाई जनताले विश्वास गरेको ठान्छु । र, हामीले उठाएका मुद्दा र हाम्रो नीतिप्रतिको जनताको समर्थनका रुपमा मैले यसलाई लिएको छु ।

हामी ‘ओपन’ छौं । राजपाले हिजो गल्ती गर्‍यो । मोर्चालाई ध्वस्त पार्‍यो । गठबन्धनलाई ध्वस्त पारेर एक्लै यो पृथ्वी जित्छु भन्ने उसले जुन अहंकार र संकीर्णता पालेको थियो । त्यो सँगसँगै जातीय विद्वेष तराईमा फैलाइयो । तराईमा मधेसी र पहाडीको विद्धेष हैन कि जातीय विद्वेषसमेत फैलाइयो । राजपा त्यो गल्तीलाई महसुस गर्दै अगाडि आओस्, मिलेर जाऔं भनेर त म अझै पनि ‘ओपन’ छु ।

एमालेको जस्तो थियो, त्यस्तै छ । अलिकति चाहीँ के छ भन्दाखेरि एमालेले संविधान संशोधनमा सघाएको भए एमालेको स्थिति कांग्रेसको भन्दा राम्रो हुने थियो । तर, त्यसलाई नसघाएका कारण तराईका जनताले एमालेलाई रुचाएनन् । नेपाली कांग्रेस अब तराई मधेसबाट धरासायी हुँदै गएको छ । आखिर तराई आधारित पार्टी त कांग्रेस पनि त हो नि । गाउँ नगरमा उसको दुई तिहाई समर्थन थियो । तर, अब कांग्रेसको गलत रबैयाका कारणले गर्दा ती दिनहरु गएजस्तो देखिएको छ ।

माओवादीले दुई नम्बर प्रदेशमा आफ्नो उपस्थिति त देखायो, तर प्रभाव देखाउन सकेन । माओवादीसँग ‘धनबहादुर’ पनि त छ नि । उससँग सत्ता र पैसा दुबै छ । सत्ता र पैसाको बलमा आएको परिणाम हो ।सूर्यनारायण मण्डलको व्यक्तिगत प्रभावले एक स्थान जितेको हो, नयाँ शक्ति पार्टीको प्रभावले होइन । तर, बाबुरामजीको पार्टी भर्खरै बन्दै गरेको भएकाले यसबारे बढी कमेन्ट नगरौं । -अनलाइन खबरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *