‘शताब्दीमा लायन्स’ पुस्तकको पोखरामा परिचर्चा

“
असोज, ४, पोखरा । सबै भन्दा ठुलो अन्तर्राष्ट्रिय सामाजिक स्वयंसेवी संस्था लायन्स क्लब अन्तराष्ट्रियको नेपालमा प्रवेश र इतिहास समेटिएको ‘शताब्दीमा लायन्स’ पुस्तकको पोखरामा विवेचना गरिएको छ । साता अघि राजधानी काठमाडौँमा विमोचन गरिएको उक्त पुस्तकको पोखरामा एक कार्यक्रमका बिच बुधवार विवेचना गरिएको हो ।
पुस्तक लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लेखेका हुन् ।
उक्त अवसरमा बोल्दै पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले नेपाल र अन्तर्राष्ट्रिय लायन्सका हरेक विषय अध्ययनका लागि पुस्तक उपयोगी रहेको बताए । ‘पुस्तकमा लायन्सको स्थापनादेखि हालसम्मका सम्पूर्ण गतिविधि समावेश गरिएको छ,’ उनले भने ।
पूर्व मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठले लायन्सलाई अध्ययन गर्ने उपयोगी पुस्तकको अभावलाई प्रकाशित पुस्तकले पुरा गरेको धारणा राखे । पूर्व डिष्ट्रिक्ट गभर्नर योेगेन्द्र प्रधानले लायन्सका विभिन्न पक्ष समावेश गरेर प्रकाशित पुस्तक इतिहासको दस्ताबेज भएको बताए ।
पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख विश्वराज अधिकारीले लायन्सको इतिहास अध्ययनका लागि पुस्तक निकै उपयोगी हुने धारणा राखे । पुस्तक विश्व लायन्सको दस्ताबेज रहेको बताउँदै उनले लायन्स भन्दा बाहिरका व्यक्तिहरूले पनि अध्ययन गर्न उनले सुझाव दिए ।
पुस्तकका लेखक आचार्यले लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष पुग्दा आफू गभर्नर भएको स्मरण गर्दै सोही अवसरमा पुस्तक प्रकाशन गर्ने सोच पुरा भएको बताए । लायन्सबारे धेरै अध्ययन गरेर पुस्तक बजारमा ल्याएको बताउँदै उनले आम पाठकलाई निकै उपयोगी हुने विश्वास व्यक्त गरे । ३ वर्षसम्म अध्ययन गरेर पुस्तकको सामग्री जुटाएको उनले जानकारी दिए ।
‘पुस्तक लेख्नुभन्दा पहिला करिब ४ सय जनासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेको छु’ उनले भने । ५ सय ४० पृष्ठको उक्त पुस्तकमा विभिन्न १५ खण्ड छन् । पुस्तकबाट बचत रकम गभर्नर आचार्यले आफूले सञ्चालन गरेको पढाऔं अभियानमा लगानी गर्ने घोषणा गरे ।
“








