एक नगरपालिकासहित २४९ वडाको मतपरिणाम सार्वजनिक

“काठमाडौं, असोज ४। प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको चुनावको मतगणनाको काम जारी छ । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मतपरिणाम सार्वजनिक भएको छ । हंसपुर नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी हुनुभएको छ ।

मतगणना जारी रहेका १३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट बुधबार बेलुका ५ बजेसम्म प्राप्त विवरण अनुसार, २४९ वडाको मतपरिणाम प्राप्त भइसकेको छ । जसअनुसार, सप्तरी जिल्लाका १८,  सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्नका लागि विभिन्न मतगणना स्थलमा निर्वाचन अधिकृतहरूले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको छ । एकाध ठाउँमा मतगणना अवरुद्ध भएकोमा मतगणना कार्य सुचारु गर्नका लागि सर्वदलीय सहमतिको प्रयास भइरहेको जानकारीसमेत आयोगलाई प्राप्त भएको छ ।

सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मे्दवारको निधन भई स्थगित भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने कार्यक्रम रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *