पोखरा महानगरपालिकाले आर्थिक विकासका योजनाहरू बर्गिकरण गरी अगाडी बढाउने

एन एच पौडेल, कास्की । पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक तथा पूर्वाधार विकासलाई दिगो र प्रभावकारी बनाउन विभिन्न परियोजनाहरुको वर्गिकरण (लिष्टिङ) गरिएको छ । महानगर भित्रका योजनाहरूको दिगो विकास र प्रभावकारी कार्यान्वयनका बारेमा इपिआईको सहयोगमा तयार पारिएको आर्थिक विकासका योजनाहरूको मस्यौदा प्रतिवेदनको बारेमा लिष्टिङ गरिएका योजनाहरूको कार्यशाला कार्यक्रममा छलफल गरिएको हो ।

योजना लिष्टिङ कार्यशालामा महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यकारी प्रमुख, विभिन्न व्यवसायी संस्थाका प्रमुख, पर्यटन सम्बन्धित व्यवसायी तथा विज्ञहरुको सहभागितामा आर्थिक योजनाको सञ्चालन, प्रभावकारी, कार्यान्वयन र दीर्घकालीन योजना सञ्चालन लगायत लिष्टिङ परियोजनाको बारेका छलफल भएको थियो ।जनप्रतिनिधि र उपस्थित अन्यविज्ञहरुले लिष्टिङ गरिएका योजना कार्यान्वयन गर्न सके पोखराले आर्थिक विकासमा फड्को मार्न सक्ने बताएका थिए । महानगरपालिकाको उक्त वर्गिकरण (लिष्ट्रिङ) परियोजना इपिआईको सहयोगमा तयार पारिएको हो ।

योजनाहरुमा दिपाङ्घ तालको सम्वर्धन, विकास तथा संरक्षण, बसुन्धरा पार्कको सौन्दर्यकरण, पर्यटकको बसाई लम्ब्याउने गरी पोखरा लुम्बिनी कनेक्सन, पर्यटन प्रर्वद्धन, हल्लनचोकस्थित क्याम्पिङ चौरलाई पार्किङ र सौन्दयकरण, मन्दिरलाई पर्यटकको निमित्त प्रवद्धन गरी आयआर्जन गर्ने गरी योजना लिष्टिङ गरिएको पोखरा लेखनाथ महानगरपालिकाका योजना महाशाखा प्रमुख एंव वरिष्ठ इन्जिनियर शारदामोहन काफले बताए ।

त्यस्तै, कास्कीकोटलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, केदारेश्वर मन्दिरलाई अझै भव्य निर्माण गरी धार्मिक पर्यटनलाई बढवा दिने, सराङकोटमा रहेको एक सय रोपनी जग्गाको उचित प्रयोग गरी पर्यटन प्रर्वद्धन गर्ने, सराङकोटमा नवनिर्मीत मन्दिरलाई पूर्णता दिने, सराङकोट भ्यू टावरको पूर्ननिर्माण तथा पदयात्री मार्ग निर्माण गर्ने, हेमजा तथा अन्य क्षेत्रका कृर्षि उपजहरुमा सहयोग गर्ने र कुखुरापालन तथा दुग्ध उत्पादनको क्षेत्रमा आवश्यक सहयोग गर्न सके मात्र पोखरा लेखानाथ महानगरपालिकाको आर्थिक विकासले फड्को मार्न सक्ने इन्जिनियर काफ्लेले बताए ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले विकासका लागी कुरा धेरै भएकाले अव नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए ।‘पोखराको विकासमा कुरा धेरै भए अब, नतिजा आउने गरी काम गरौँ ’उनले भने ।

योजना आयोगका पूर्व उपाध्यक्ष सन्तोष शर्माले निजी क्षेत्र र जनता सहयोग गर्न तयार भएकाले काम गर्न सजिलो हुने भन्दै आफ्नो तर्फबाट आवश्यक सहयोग रहने बताए । पोखरा लेखनाथ महानगरपालिकका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले पोखराको आर्थिक विकासमा सम्भवना धेरै रहेको बताउँदै विभिन्न खाले बाधा र व्यवधानले अवरोध सृजना गरेको बताए । उनले योजना कार्यान्वयनमा कसरी जाने भन्नेमा स्पष्ट हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *