आज संविधान दिवस बिबिध कार्यक्रम गरी मनाईयो

काठमाडौं, असोज ३ । नेपालको संविधान घोषणा भएको आज दुई बर्ष पूरा भएको छ । संविधान जारी भएको तेस्रो वार्षिकोत्सवका अवसरमा सरकारले संविधान दिवस–२०७४ समारोहको आयोजना गरेको छ । काठमाण्डौको सैनिक मञ्चमा भएको कार्यक्रममा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनाका साथै रङ्गीबिरङ्गी बेलुन उडाइएको थियो ।

देशमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीले ‘शान्तिका दूत’ परेवा उडाउनुभएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुनपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनले देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ बलियो बनाइने बताउनुभयो । प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गरी मुलुकलाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गर्दै दिवसले सबैलाई एकताबद्ध भई समृद्ध राष्ट्र निर्माण गर्ने कार्यमा अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र केन्द्रको निर्वाचनको पनि मिति तोकिएको हुनाले तीनै तहको निर्वाचन सम्पन्न भएपछि संविधान कोसेढुंगा सावित हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *