बारा जिल्लाका स्थानीय तहमा कडा टक्कर हुँदै

“
असोज ३, बारा । बारामा रहेकाे १७ स्थानीय तहमध्ये २ स्थानकाे मतगणना कार्य सुरु हुन सकेको छैन । त्यहाँ गणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । जिल्लाको फेटा, आदर्शकोतवाल गाउँपालिका, सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका र पर्चौता नगरपालिकामा हिजो रातीदेखि नै मतगणना सुरु भएको छ भने जितपुर सिमरा उपमहानगरपालिकामा बिहान ५ बजेदेखि मतगणना सुरु भएको हाे । निजगढ र कोहल्बी नगरपालिकामा ९ बजेपछि मतगणना सुरु हुने जनाइएको छ ।
हिजो रातीदेखि गणना भएका स्थानीय तहको प्रारम्भिक मतपरिणाम बाहिर आउन थालेको छ । प्रारम्भिक मतपरिणाम अनुसार बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । आदर्शकोतवाल गाउँपालिकामा नेकपा एमाले अगाडि देखिएको छ । एमाले उम्मेदवारलाई नेपाली काँग्रेस, सङ्घीय समाजवादी फोरमले पछ्याइरहेका छन् ।
बिहान ७ बजे सार्वजनिक भएको मत परिणाम अनुसार, फेटा गाउँपालिकामा सङ्घीय समाजवादी फोरमले अग्रता बनाएको छ । नेपाली काँग्रेस दोस्रो स्थानमा छ । बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले लिड गरिरहेको छ ।
हिजोदेखि नै केही स्थानीय तहमा मतगणना सुरु भए पनि मतपरिणाम प्राप्त गर्न कठिनाइ भएको छ । बारामा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मतदान स्थलमा संचारकर्मीलाई फोटो खिच्न दिइएको छैन । कडा सुरक्षा बिच मत गन्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए ।
“








