दशैँ तिहार विशेष सुरक्षा योजना सार्वजनिक, सादा पोसाकमा खटिए प्रहरी

भक्तपुर, भदौ २९ । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताइन् ।

प्रहरीका वृत्त प्रभाग तथा इकाइबाट घरदैलो तथा सचेतनामूलक पर्चा वितरण तथा माइकिङ सुरु गरेको जानकारी दिँदै उनले सामुदायिक प्रहरीलाई घरदैलोमै पठाएर सुरक्षित हुनेबारे जानकारी गराउने बताइन् ।

चाडपर्वलाई लक्षित गरी आपराधिक क्रियाकलापमा संलग्न रहेका, पटके तथा शंकास्पद व्यक्तिलाई पनि प्रहरीले उच्च निगरानीमा राख्ने भएको छ ।

प्रहरीले बैंक, वित्तिय संस्था, सुनचाँदी पसललगायत आर्थिक कारोबार हुने स्थानमा सम्बन्धित प्रहरी इकाइबाट सादा पोशाकमा व्यापक प्रहरी परिचालन गर्नेछ ।

भक्तपुरका ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती परिचालन गरिने, मुख्य राजमार्ग तथा सहायक राजमार्गमा समय परिवर्तन गरी ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त चेकिङको व्यवस्था गर्ने भएको छ ।

होटेल, लज, रेस्टुराँ, पुल हाउसमा नियमितरुपमा चेकिङ बढाएको बताउँदै उनले कुनै पनि आपराधिक घटना घट्न नदिन रातको समयमा समेत क्षेत्र विभाजन गरी सादा पोशाकमा प्रहरी खटाइएको बताइन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले चाडपर्वका समयमा यात्रु ठगिनसक्ने भएकाले ट्राफिक र प्रहरीद्वारा संयुक्तरुपमा चेकिङ गर्ने व्यवस्था मिलाइएको बताइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले दशँैमा अपराधी सक्रिय हुनेसक्ने र चोरी डकैती बढ्न सक्ने भएकाले गाउँ, टोलका बासिन्दाले एकअर्का बिच समन्वय गरेर निगरानी गर्ने र शंकास्पद भएमा तत्कालै प्रहरीलाई खबर गर्नुपर्ने बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *