दसैंका लागि खाद्य संस्थानले १५०० खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउँदै

काठमाडौं, भदौ २७ । नेपाल खाद्य संस्थानले यो वर्षको दसैंका लागि एक हजार ५०० खसीबोका र एक हजारओटा च्याङ्ग्रा ल्याउने जनाएको छ ।

संस्थानले हेटौंडाबाट एक हजार र दाङबाट ५०० खसीबोका ल्याउने जनाएको छ ।

यस्तै, च्याङ्ग्रा मुस्ताङ र जोमसोमबाट ल्याउने तयारी गरिरहेको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

खसीबोका एवं च्याङ्ग्रा बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा बिक्री हुने प्रवक्ता सापकोटाले मंगलबार हामीसित बताए ।

चाडपर्वलाई लक्षित गरी सर्वसाधारणलाई उपभोग्य वस्तु सहज र सुपथ मूल्यमा उपलब्ध गराउन नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्तरुपमा उपत्यकाका ४ स्थानमा ‘सहुलियत दरको सुपथ मूल्य पसल’ सन्चालन गरिरहेका छन् ।

‘सहुलियत दरको सुपथ मूल्य पसल’ टेकु, सिंहदरबार, जाउलाखेल र भक्तपुरमा सन्चालन भइरहेको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए ।

दसैंका लागि कंलकीको खसीबजारमा भने दाङ र सल्यानबाट बढी संख्यामा खसीबोका आउन लागेको खसीबजारका व्यापारीको भनाइ छ ।

उपभोक्ताको मागलाई नेपाली खसीबोकाले धान्न गाह्रो हुने भएकाले भारतबाट उल्लेख्य संख्यामा भित्र्याउने गरिन्छ ।

यो वर्षे खसीबोकाको कुल मागको ९० प्रतिशत बराबर भारतबाट ल्याइने र १० प्रतिशत बराबर माग भने स्वदेशी खसीबोकाले धान्ने व्यापारीहरु बताउँछन् ।

अघिल्लो सालको दसैंमा उपत्यकामामात्र करिब ५० हजार खसीबोका खपत भएका थिए । कंलकीको खसीबजारबाट ४० हजार र बाहिरी बजारबाट १० हजार खसीबोका बिक्री भएको व्यापारीले बताएका छन् ।

यसैगरी, उपभोक्तालाई खाद्यान्नमा सहुलियत दिन नेपाल खाद्य संस्थानले ८ स्थानमा र साल्ट ट्रेडिङले ९ स्थानबाट ‘सहुलियत दरको सुपथ मूल्य पसल’ सन्चालन गरिरहेका छन् ।

संस्थान र साल्ट ट्रेडिङका तीनओटा घुम्ती गाडी पनि सन्चालन भइरहेको जनाइएको छ ।

उपत्यकाबाहिर भने २२ स्थानमा यस्ता पसल सन्चालन भइरहेको संस्थान र साल्ट ट्रेडिङले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *