नेपाली काँग्रेसका नेता प्रदेश नम्बर २ मा, को कहाँ छन् ?

काठमाडौं, भदौ २७ । नेपाली काँग्रेसले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा अत्याधिक सीट ल्याउने योजनाका साथ तीव्र तयारी थालेको छ ।

प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १०० भन्दा बढी तहमा जित्ने रणनीतिका साथ काँग्रेसले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको काँग्रेस नेता एवं कृषि विकास मन्त्री रामकृष्ण यादवले बताए ।

निर्वाचनमा पार्टीका पक्षमा माहोल बनाउन पार्टीका शीर्ष नेताले आजदेखि प्रदेश नं २ का आठवटै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न सुरु गरेका केही दिनदेखि निर्वाचनको तयारीमा खटिएका मन्त्री यादवले जानकारी दिए ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालालगायत शीर्ष नेताहरुले आज(मंगलबार)देखि प्रदेश नं २ का सबै जिल्लामा कार्यकर्ता भेटघाट र चुनावी सभालाई सम्बोधन गर्न सुरु गरेका छन् ।

यतिखेर प्रदेश नं २ मा प्रमुख दल काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुईसाता अघिदेखि नै निर्वाचन प्रचार अभियानअन्तर्गत चुनावी सभा, घरदैलो भेटघाट र छलफललाई तीव्र पारिरहेका सन्दर्भमा मधेश केन्द्रित दलहरू पनि पहिलो हुने रणनीतिका साथ निर्वाचनमा होमिएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाललगायत तराई मधेस केन्द्रित पार्टीको चुनावी प्रचारले निर्वाचन माहोल ह्वात्तै तातेको छ ।

प्रदेश नं २ का कुल १३६ स्थानीय तहमा हुन लागेको निर्वाचनमा छ हजार छ सय पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेको प्रदेश नं २ अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निर्वाचन हुँदैछ ।

यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *