नेपालद्वारा थाइल्याण्ड २ सय ५५ रनले पराजित

काठमाडौं, भदौ २६ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गरेको हो । मलेशियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइल्याण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८१ रन बनायो ।

नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाउनुभयो । सतक बनाउनबाट ९ रनले चुकेका साहले ७४ बलको सामना गर्दै पाँच छक्का र ६ चौका प्रहार गर्नुभयो । प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकासहित ५० रन बनाउनुभयो भने सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरीले २२, पवन सर्राफले २२ र आसिफ शेखले २१ रन बनाउनु भएको थियो ।

नेपालको घातक बलिङका सामु थाइल्याण्ड निरिह देखियो । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दिपले सात विकेट लिने क्रममा चार ओभर बलिङ गरी मात्र ६ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिनुभयो । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटान विरुद्ध खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *