क्यानाडाको मोहले यसरी नेपालमा बन्दक बने विदेशी युवती

भदौ २५, काठमाडौँ । सलोमी र जेनी यति बेला आफ्नो देश श्रीलंका पुगिसकेका छन् । सायद अब उनीहरू कहिल्यै अमेरिका र क्यानडाको सपना देख्ने छैनन्, बरु नेपालमा रोएर बिताएका हरेक रातले उनीहरूलाई आफ्नै भूमिमा केही गर्न आत्मबल दिने छ ।

धेरै नेपाली युवायुवती अमेरिका, युरोप र क्यानडा जाने चक्करमा विश्वका विभिन्न देशमा बन्धक बनेका र दुःख पाएका घटनाहरू हामीले सुन्ने गरेका छौ । तर, दुई श्रीलंकाली युवतीको उद्धारपछि मानव तस्करको सञ्जालले नेपाललाई समेत ट्रान्जिट बनाउन थालेको नेपाल प्रहरीले निष्कर्ष निकालेको छ ।

२४ वर्षीया सलोमी पद्मनाभम् र ३४ वर्षीया जेनी सुसाइपिल्लाई श्रीलंकाको तमिल बाहुल्य अनुराधापुरममा व्युटीपार्लर चलाउँथे । मध्यमवर्गीय परिवारका यी तमिल युवतीलाई क्याडनामा सेटल हुने लोभले ३ महिनासम्म नेपालको एक होटेलमा बन्धक बनायो ।

धनुसन भन्ने व्यक्तिले उनीहरूलाई क्यानडा पठाउने भन्दै पाँचपाँच लाख श्रीलंकन पैसा लियो । परिवार नै क्यानडामा सेटल हुने भनेपछि उनीहरू जुन २६ मा कोलम्बोबाट इण्डोनेसिया उडेका थिए ।

पाँच दिनसम्म दलालले जकार्ता विमानस्थलमै राखेपछि फेरि मलेसिया पुर्‍यायो । मलेसियाबाट क्यानडा उडेका जेनी र सलोमी काठमाडौँमा आइपुगे । जम्माजम्मी कथा यत्ति हो, तर यसबीचमा उनीहरूले भोगेको त्रासदी बिर्सनलायक छ भने मानव तस्कारको सञ्जाल भत्काउन इन्टरपोल नै सक्रिय बनाउनुपर्ने देखिन्छ ।

क्यानडा हिँडेका दुई श्रीलंकाली युवती तीन महिना काठमाडौँको ठमेलस्थित एक होटेलमा ‘बन्धक’ बनाइए । जकार्ताबाट मलेसिया हुँदै काठमाडौँ ल्याइपुर्‍याउँदासम्म उनीहरूले क्यानडा जाने आशा मारिसकेका थिएनन् । काठमाडौँमै रहेको अर्को श्रीलंकाली र नेपाली दलालले उनीहरूलाई तीन चार दिनका लागि भनेर विश्वनाथ होटेलमा राखेर हिँडेपछि कहिल्यै फर्किएनन् ।

‘हाम्रो पासपोर्ट र टिकट होटेल मालिकले लियो । हामीलाई होटेल पुर्‍याउने व्यक्ति कहिल्यै फर्किएनन् । होटलवालाले बाहिर निस्कन पनि दिएन । हामी हरेक दिन घर सम्झेर रुन्थ्यौं’ बन्धक अवस्थाबाट उद्धार भएपछि ललोमीले भनिन् ‘हामीले पाएको जस्तो दुःख संसारका कसैले पनि पाउन नपरोस’ ।

तीन महिनासम्म होटेलमा बन्धक बनाइएका सलोमी र जेनीलाई आइओएम, नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरो (सिआइबी र शक्ति समूहको पहलमा उद्धार गरियो । उद्धारपछि उनीहरू केही दिन शक्ति समूहको सेप होममा बसेर गत बिहीबार आइओएमकै सहयोगमा स्वदेश फर्किसकेका छन् ।

घर फर्किदैगर्दा उनीहरूले नेपाल धेरै राम्रो लागेको र तीन महिनाको बन्धक अवधि बिर्सने हो भने नेपालीहरू धेरै सहयोगी रहेछन् भने । ‘हामीजस्ता धेरै श्रीलंकाली युवती विदेशको चक्करमा हराइरहेका छन्,कतै उनीहरूलाई पनि नेपालमा ल्याएर बन्धक बनाइएको छ कि रु’ जेनीले शङ्का व्यक्त गरिन् । दलालहरुले क्यानडा भनेर काठमाडौँमा ल्याएर अलपत्र पारेपछि उनीहरू यो कुरा आफ्नो देशमा गएर मिडियालाई भन्नेवाला छन् ।

सलोनीले भनिन्(अब हामी फर्किएपछि आफ्नै गाउँमा दुःख गर्छौँ । हामीलाई बेच्ने अपराधीमाथि कारबाही गराउन सरकारलाई गुहार्छौं । मानव तस्करहरुको कुनै जात धर्म र देश हुँदो रहेनछ । यिनीहरूको सन्जाल भत्काउन र हामी जस्ता बेचिन लागेकाहरुलाई जोगाउन नेपाल र श्रीलंकाको सरकारले मिलेर काम गर्नुपर्छ ।

शक्ति समूहका परियोजना निर्देशक दिलीप कोइरालाले धेरै बंगलादेशीलाई नेपालबाट तेस्रो मुुलुक उडाउने गरेका घटना आए पनि श्रीलंकालीको उद्धार गरिएको यो पहिलो पटक भएको बताए । उनले मानव तस्करले पछिल्लो सयम नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्न थालेको यो घटनाले देखाएको बताए ।

कोइरालाले भने, “”मानव तस्करीको सन्जालसम्म पुग्ने हो भने प्रहरीले होटलवालाबाट अनुसन्धान गर्नुपर्छ । तीन महिनासम्म यी युवतीलाई थुनेर राख्ने होटेल मालिक पनि यो गिरोहमा हुनुपर्छ ।””

होटेल सञ्चालकले यी युवतीको भिसा लगाउन पैसा मागेको बयान दिएका छन् । यसबाट पनि कहीँ न कहीँ ठमेलका होटलहरु मानव तस्करीको धन्दामा प्रयोग हुने गरेको आशंका प्रहरीको छ ।

सीआइबी प्रमुख पुष्कर कार्कीले मानव तस्करको सञ्जाल निकै बलियो बनेको भन्दै यो प्रकरणपछि प्रहरीले थप अनुसन्धान थालेको बताए । मानव तस्करहरुले काठमाडौँलाई ट्रान्जिटका रूपमा प्रयोग गर्न थालेको आशंका प्रहरीको छ ।

Source : onlinekhabar

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *