राम्री घमण्डी युवती !

एकादेशमा अचम्मै राम्री एउटी युवती थिइन। गाउँ सहरमा उनको रूप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थे। तर युवती भने तिनीहरूलाई मान्छे नैं गन्दैनथिन। उनलाई आफ्नो रूप र जीउडालमा साह्रै घमण्ड थियो। उनको रूप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ। राजाले युवतीलाई दरबारमा नर्तकीको रूपमा जागिर दिए। राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रूपमा भने ठगिएका थिए अर्थात् राम्रा थिएनन। एक दिन राजालाई युवतीको परीक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरी साधारण कामदारको भेषमा युवतीलाई भेटेर उसको रूपको प्रशंसा गर्दै विवाहको प्रस्ताव राखे।

युवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन् “ओइ गधा ! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ ? कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैँले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ ? तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस्।”

युवतीको घमण्डबारे पहिल्यै सुनि सकेका हुनाले राजा रिसाएनन, बरु हाँस्दै जवाफ दिए ।

‘हे सुन्दरी, तिमी भगवानले रूप र जीउडाल दिने लाइनमा बसिछौ, म भने भगवानले ज्ञान र भाग्य दिने लाइनमा बसेको थिएँ, त्यसैले त आज म राजा भएको छु र तिमी मेरो सेवक तथा साधारण नर्तकी। रूपमा घमण्ड गर्नु अज्ञानता हो। बिना ज्ञानको रूप र बिना पातको रुख उस्तै उस्तै हुन। म त तिमीलाई यही कुरा सम्झाउन आएको थिएँ। तिमीसँग बिहे गर्न हैन। मलाई थाहा छ, पात नभएको रुखले छहारी दिन सक्दैन।’

युवती लाजले मरेसरी भई आफ्नो बाटो लागीन र त्यही दिनदेखि आफ्नो रूपको घमण्ड गर्न छाडिदिईन्।

                                                                                                                             अज्ञात

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *