शिक्षण पेसा छाडी तरकारी खेतीमा

जितपुर (कपिलवस्तु), २३ भदौ । वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेसा छाडी तरकारी खेतीमा लागेका छन् ।

तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेसा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भास्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेसामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

वाणगंगा–३ झुँगाका ठाकुर ढकाल र राजमणिको दुई बिघा जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी उनीहरूले भाडामा लिई व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् । लौका, घिरौँला, भिन्डी, बोडी, काँक्रा बिक्री गरी चार महिनामै रु एक लाख ५० हजार आम्दानी भएको छ ।

“शिक्षण पेसाभन्दा तरकारी खेतीबाट खुसी मिलेको छ,” पौडेलले भन्नुभयो । उनीहरूले १६ कट्ठामा लौका, बोडी, काँक्रा तथा १४ कट्ठामा भन्टा, फर्सी, खुर्सानी लगाएका छन् । करिब रु ८० हजारको लागतमा तरकारी खेती सुरु गर्नुभएका पौडेल र पँगेनीले मासिक रु दश हजार ज्याला दिई सहयोगीसमेत राख्नुभएको छ ।

लौका प्रतिकलो रु २०, बोडी रु ८०, भन्टा रु ३०, काँक्रा र घिरौँला रु ३५ का दरले बजारमा पु¥याई बिक्री गर्ने गरेका पँगेनीले बताउनुभयो । अहिलेसम्म रु पाँच लाखभन्दा बढी लगानी गरेको उहाँले बताउनुभयो । उनीहरू कामदार नपाएर चिन्तित बनेका छन् । कामदार अभावले १० कट्ठामा धानबाली लगाएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *