बाढीपीडितका नाममा रिकभरिङ नेपालमा विवाद

काठमाडौँ, भदौँ २१ । रिकभरिङ नेपाल जस्तो सामाजिक संस्थालाई केही व्यक्तिहरूले राजनीतिक पार्टीको भातृ सङ्गठन बनाउन खोजिएको आरोप लगाएका छन् । संस्थाकै केही जिम्मेवार व्यक्तिले तराईका बाढी पीडित जनतामा नाममा राहत सङ्कलन गरेको भन्दै संकलित रकम नेपाली काँग्रेसको भातृ सङ्गठनलाई दिएर संस्थाभित्र राजनीति घुसाएको आरोप लगाएका हुन् ।

संस्थाले बाढी पीडितका नाममा राहत सङ्कलन गरेको भन्दै रिकभरिङ नेपालका महासचिव उज्वल कर्माचार्यले उक्त रकम नेपाल तरुण दललाई हस्तान्तरण गरेकोमा संस्थाका जिम्मेवार पदाधिकारीले नै गत साउन २७ गतेको बाढीबाट तराईका विभिन्न क्षेत्रका जनतालाई राहत वितरण गर्न भनेर सङ्कलन गरेको रकम नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दललाई दिइएको पाइएको हो । सरकारले राहत वितरणमा एकद्वारा नीति बनाएपनि रिकभरीङका केही व्यक्तिहरूले तरुण दलका पदाधिकारीलाई खुसी बनाउन सहयोग दिएको बुझिएको छ ।

रिकभरिङ नेपालका महासचिव उज्वल कर्माचार्यले संस्थाका अध्यक्ष र कार्य समितिलाई समेत थाहै नदिई तरुण दलका अध्यक्ष बस्नेतलाई संकलित रकम रु ६० हजार २ सय ५० दिएका छन् । फुँयालले गत भाद्र १६ गते संस्थाका पदाधिकारीलाई समेत जानकारी नगराई आफू खुसी संस्थाले सङ्कलन गरेको रकम बस्नेतलाई दिएका हुन् ।

कर्माचार्यको एकलकाटे निर्णयबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु शर्मा फुँयाल समेत रुष्ट छन् । उनले सामाजिक सञ्जालमा महासचिव कर्माचार्यको एकल निर्णयबाट संस्थालाई बद्नाम गराएको बताएका छन् । संस्थाले आर्थिक रकम पारदर्शी ढङ्गले नदेखाएको भन्दै संस्थाका सदस्यहरू क्रुद्ध छन् भने, बाढीपीडितहरुको हातहातैमा आफैँ राहत वितरण गर्न सक्न अवस्था हुँदाहुँदै दल निकट सङ्गठनलाई रकम दिएर संस्थालाई पार्टीकोे भातृ सङ्गठन बनाउन खोजेको आरोप समेत लगाएका छन् ।

विभिन्न सङ्घ संस्थाले तराईमा बाढीपीडितहरुको आँगनमै पुगेर हात हातै राहत सामाग्री वितरण गर्दै आइरहेका छन् । तर, रिकभरिङ नेपालले भने, बाढीपीडितहरुका लागि राहत रकम सङ्कलन गरेर पीडितमाझ पुर्‍याउन भन्दा सङ्गठनका नेतालाई पोस्ने काम गरेको रिकभरिङका कोषाध्यक्षले बताए ।

कोषाध्यक्ष रिद्धि जङ्गप्रताप जबराले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो असन्तुष्टि पोख्दै बाढीपीडितका लागि सङ्कलन गरिएको राहत रकम पार्टीको भातृ सङ्गठनलाई दिएर संस्थालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । जबराले बाढीपीडितहरुको हातमा राहत र्पुयाउन नसकिए ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’मा समेत जम्मा गर्न सकिने अवस्था हुँदाहुँदै व्यक्तिगत स्वार्थका लागि संस्थालाई प्रयोग गरिएको बताएका छन् । ‘पार्टीको झन्डामुनि बसेर काम गर्ने निर्णय किन र कसले गरेको हो ? यो निर्णयप्रति मेरो गम्भीर आपत्ति छ ।’ आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

महासचिव कर्माचार्यको कार्यशैली प्रति असन्तुष्ठी जनाउँदै विनयजंग बस्नेतले आफ्नै संस्था हुँदा हुँदै राजनीतिक दलको सङ्गठनलाई आर्थिक सहयोग हस्तान्तरण गर्नु गलत रहेको बताए । एक हस्तासम्म तराईका विभिन्न क्षेत्रमा राहत वितरण गरेर फर्किएका बस्नेतले बाहिर जतिसुकै बाढीपीडितले राहत पाएको खबर फैलाइएपनि यथार्थमा अधिकांश पीडितले नपाएको बताए । पूर्व लागूपदार्थ दुब्र्यशनी बस्नेतले नेपालीहरूको महान् पर्व बडा दसैँले झपक्कै छोपेका बेला पहाडले दसैँ मनाउँदा तराईले मनाउन नसक्ने अवस्था रहेको चित्रित गरे । ‘चाडवाड घरदैलोमा आइरहँदा तराईका जनता गाँसबास र कपासको आसमा छन् । हामी सबैले सहयोग गर्नु आवश्यक छ ।’ उनले भने ।

रकम लिएको हो ‘बस्नेत’

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले रिकभरिङ नेपालबाट रकम पाएको स्वीकार गरेका छन् । उनले रिकभरिङ नेपालले सङ्कलन गरेको आर्थिक सहयोग आफूलाई प्राप्त भएको र उक्त रकम सुरक्षित रहेको बताए । ‘एक तरुण एक राहत अभियान घोषणा गरेर राहत सङ्कलन गर्न थालेपनि रिकभरिङका उज्वल जीले आफैँ आएर रकम दिनुभयो ।’ उनले भने । ‘हामीले उहाँहरूलाई आर्थिक सहयोग मागेका हैनौं, संस्थाले नै दिएको भनेपछि लिइएको हो । तरुण दलको बद्नाम गराउन यस्तो गरिएको हो भने, तत्काल म रकम फिर्ता दिन्छु ।’ बस्नेतले मकालु खबरसँग फोन सम्पर्कमा भने । बस्नेतलाई कर्माचार्यले ६० हजार दुई सय पचास रुपैंया दिएका छन् ।

बस्नेतले तरुण दलले बाढीपीडितका लागि राहत वितरण गर्न आर्थिक रकम उठाएको भए पनि कुनै पनि सङ्घ संस्थासँग सहकार्य भने नगरेको प्रस्ट पारे । ‘हामीले कुनै संस्थासँग समन्वय गरेका छैनौँ । अहिले आठ जनाको समूहले चन्द्रनिगारपुरमा राहत वितरण गर्दैछौँ । यसअघि सिन्धुलीमा ५० हजार, महोत्तरीमा २ लाख, धनुषामा पाँच लाख, सुनसरीमा १५ हजार र शव गाड्न जमिन अभाव भई नदीमा बगाइएका सप्तरीका सदा परिवारलाई २५ हजार राहत वितरण गरिसकेका छौँ । हाम्रो सङ्गठनले सुनसरीका बाढी पीडितहरुका लागि एक ट्रक सामान नै पठाएको हो । करिब १५ लाख भन्दा बढीको राहत सामग्री सङ्गठनले वितरण गर्दैछ ।’ उनले भने ।

सहमति गरेर दिइएको हो ‘महासचिव’

रिकभरिङ नेपालका महासचिव उज्वल कर्माचार्यले संस्थाका अध्यक्ष र अन्य सदस्यहरूको सहमतिमै राहत रकम तरुण दलका अध्यक्षलाई दिएको दाबी गरे । आफूहरू तराई झर्न फुर्संद नभएको भन्दै उनले संस्थासँग भएको ६० हजार २ सय पचास रुपैयाँ तरुण दललाई दिएको स्वीकार गरे । ‘संस्थाका सदस्यहरूले के असन्तुष्टी व्यक्त गरे म जान्दिन । तर, अध्यक्षसहित सबैको सहमतिमा राहत रकम हस्तान्तरण भएको हो ।’ उनले भने । कर्माचार्यले बैठक नै बसेर रकम दिने निर्णय गरेको भन्दै अहिले आएर एकथरि कुरा गरेर संस्थाका व्यक्तिले गलत चर्चा बटुल्न खोजेको आरोप लगाए ।

संस्थासँग ५ पैसा छैन ‘फुँयाल’

आफूसँग महासचिवले कुनै सहकार्य नगरेको रिकभरिङ नेपालका अध्यक्ष विष्णु शर्मा फुयाँलले बताए । उनले आफूसँग कुनै सल्लाह नभएको जिकिर गरे । ‘अहिले संस्थासँग पाँच पैसा छैन । संस्था आफै पीडित छ । कोठा भाडा तिर्न धौधौ परेको बेला ६० हजार रकम जुटाउन कहाँबाट सकिन्छ ?’ उनले भने । फुँयालले आफैँ बिरामी रहेको र संस्थाका कुनै पनि व्यक्तिसँग समन्वय र भेटघाट समेत नभएको जिकिर गर्दै भने–‘म आफैँ बिरामी छु । केही दिनअघि बाढीपीडितका लागि राहत जुटाउने कि नजुटाउने ? भन्ने विषयमा बैंठकमा तत्काल संस्थाले राहत जुटाउन नसक्ने निर्णय गरेको छ ।’ उनले भने । उनले कसैले व्यक्तिगत रूपमा तरुण दललाई सहयोग गरेको भए आफूलाई कुनै चासो नरहेको तर, रिकभरिङ नेपालको नाममा गर्दै नगरेको काम गरेको भन्दा दुखः लागेको बताए । यो विषयमा शुक्रवार संस्थाको बैठक नै बस्ने फुयाँलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *