नारायणगढ–मुग्लिन सडकखन्डमा मुआब्जा वितरण

चितवन, भदौ २० । नारायणगढ–मुग्लिन सडकखन्डको सडकछेउमा रहेका पहिरोको उच्चजोखिममा परेका ४५ ओटा घर स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिले पेस गरेको मुआब्जा रकमलाई समितिले अनुमोदन गरी घरधनीलाई मुआब्जा लिन आउन आह्वान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकाअनुसार ४५ ओटा घर–गोठ, शौचालय, पसललगायतको मुआब्जा रु एक करोड ४४ लाख १४ हजार निर्धारण गरिएको छ ।

विश्व बैंकको सहयोगमा सडक निर्माण भइरहेकाले अहिलेकोभन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआब्जा निर्धारण उपसमितिका संयोजक नेत्रप्रसाद शर्माले बताए ।

विस्थापन भत्ता प्रतिघर रु २० हजार, अर्को घर नबन्दासम्मका लागि भाडा रकम रु १० हजार, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि रु १० हजार र दलित जनजाति भएमा थप रु १० हजारसमेत दिइनेछ । सो कार्यका लागि रु २० लाख ८० हजार वितरण गरिँदैछ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयमा गत आवमा मुआब्जाका लागि रु ५० लाख पठाइसकेको थियो ।

आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार थप रकम तत्काल पठाउन सकिने हुँदा प्रभावितले तुरुन्तै मुआब्जा रकम पाउनेछन् ।

जीवनपयोगी सीप विकासका लागि आयोजनाले गत वर्ष पनि च्याउ, ब्रिकेट, बाख्रापालनलगायतका तालिम दिएको थियो । खनालकाअनुसार यस वर्ष पनि त्यस्ता तालिम दिइनेछ । तालिमपछि उनीहरुले काम गर्नका लागि रु १० हजार रकम पाउनेछन् । उनीहरु बसेका सबै जमिन बाटो क्षेत्र पर्दछ ।

विश्व बैंकको सहयोगमा सडक विस्तार भएकाले व्यवस्थित स्थानान्तरण र जीवन सन्चालनमा सहयोग पुर्‍याउने काम आयोजनाबाट हुनुपर्ने हुन्छ ।

सडक विस्तारकाक्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा चौडा बनाउँदा स्थानीयवासीलाई स्थानान्तरण गर्नुपरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *