प्रमुख दलका नेताहरूद्वारा राष्ट्रपतीय प्रणालीलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता

भदाै १८, काठमाडाै । प्रमुख राजनीतिक दलका नेताहरूले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सत्तारुढ काँग्रेस माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विषयमा गम्भीर बहस सुरु गर्नुपर्नेमा जोड दिएका हुन् ।

नयाँ शक्ति पार्टी, नेपालद्धारा आइतबार काठमाडौँमा आयोजित ‘राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख तीन वटै दलका नेताहरूले राजनीतिक स्थायित्व कायम गर्न पनि अब प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बहस गर्ने बेला आएको स्पष्ट पारेका छन् ।

काँग्रेस नेता प्रदिप गिरीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको विषयमा अब गम्भीर बहस गर्ने बेला आएको बताए । उनले राजनीतिक प्रणाली परिवेश र परिस्थितिको उपज भएको उल्लेख गर्दै अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विषयलाई प्रश्नोत्तरको विषय बनाउन सामयिक हुने धारणा राखे ।

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा जाने पार्टीले औपचारिक निर्णय लिएको स्मरण गराए । उनले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई पार्टीको एजेन्डा बनाएर लैजाने घोषणा गरिसकेको पनि उल्लेख गरे । भने, माओवादी केन्द्रले मुलुकलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विकल्प नरहेको तर्क गर्दै आएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शक्तिशाली सरकारको पक्षमा उभिनुपर्ने बेला आएको बताए । उनले शक्तिशाली सरकारले मात्रै राजनीतिक स्थायित्व कायम गर्ने भएकाले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीको पक्षमा मुलुकमा बहस सुरु भएको स्पष्ट पारे । अध्यक्ष लोहनीले सन्तुलन र नियन्त्रणको परिधिभित्र रहेर शक्तिशाली कार्यकारीको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *