यसरी हुदोरहेछ मसाज सेन्टरमा ‘ह्याप्पी इन्डिङ’

भदाै १८, काठमाडाै । मसाज सेन्टरको नाममा यौनधन्दा हुनु राजधानीका लागि नौलो होइन । मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमार्ने पनि होइन तर पनि यो धन्दा रोकिएको छैन । शुक्रवारको एक साता लामो रिपोर्टिङबाट खुल्यो– तेलमालिस त बहाना मात्र हो, मसाजकर्ताको ध्येय अर्कैतिर छ । त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज सेन्टरमा हुने स्खलन । जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ । अनिल यादवले उपत्यकाका मसाज सेन्टर र स्पा चहारेर तयार पारेको रिपोर्ट ।

मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन, उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको हुन्छ । राजधानीका मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो यो । तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ ? के कारणले ग्राहकको अनुहार दिप्त हुन्छ ?

शुक्रवारको एक साता लामो रिपोर्टिङबाट खुल्यो– मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलापले पनि फड्को मारिरहेको छ । तेल मालिस त बहाना मात्रै रहेछ, त्यहाँ पाइने ‘अरुखाले’ सेवाले पनि ग्राहक पल्काइरहेको छ । के हो त्यस्तो सेवा ? ‘ह्याप्पी इन्डिङ त हो नि,’ छानीछानी मसाज सेन्टर र स्पा धाउने ठमेलका एक व्यवसायी सागर श्रेष्ठ (नाम परिवर्तन) ले भने, ‘अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि पूरै मसाज हुन्छ । पूरै भन्नाले माथिदेखि तलसम्म । लास्टमा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइदिन्छन् । त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्छ ।’

के हो ह्याप्पी इन्डिङ ?

पछिल्लो समय मसाज र स्पा धाउने ग्राहकमाझ चल्तीको गोप्य भाषा हो– ह्याप्पी इन्डिङ । ‘कसैले छापा मार्ला भन्ने डर पनि भएन, मज्जा पनि हुने भयो,’ सोमबार ललितपुरस्थित पुल्चोकको नील मेघा स्पामा भेटिएका युवाले भने, ‘त्यसैले कहिलेकाहीँ साथीभाइ मिलेर ‘ह्याप्पी इन्डिङ’ गर्न आइन्छ ।’

मसाज सेन्टरतिर पछिल्लो समय पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ । ‘यो त मसाजको पार्ट नै भइसक्यो,’ सागरले भने, ‘१२ सय रुपैयाँमा मसाज पनि हुन्छ, ह्याप्पी इन्डिङ पनि हुन्छ ।’



जे देखियो

लोकेशन : लाजिम्पाट । शनिबार एक नियमित ग्राहकको सहयोगमा उनीसँगै ‘वेलकम पार्लर एन्ड स्पा’ भित्र पुगियो । नाम नै वेलकम । प्रवेश गर्न नपाउँदै चार–पाँच जना युवतीको समूहले सामूहिक रुपमा स्वागत गरिहाल्यो, ‘नमस्ते सर, नमस्ते ।’

‘पानी पिउने हो सर ?’ स्वागतको सिलसिला थप अघि बढ्यो । पानी पिइसकेपछि सदाझैँ ती ग्राहकले एक घण्टा मसाज गर्ने निर्णय गरे । युवतीसहित भित्र पर्दाले छोपिएको कोठामा पुगे । बाहिर अन्य युवतीहरु ‘बर्थडे पार्टी’ मनाउने कुरा गरिरहेका थिए ।

बर्थडे संवादमा उत्साहित एक युवती भनिरहेकी थिइन्, ‘हामी सबै एउटा कोठामा बस्नुपर्छ, दिदीभिनाजुहरुलाई अर्कोमा बसाउनुपर्छ । अफिसको कुराचाहिँ केही पनि गर्नुहुँदैन ।’ वाइन कति किन्ने भन्ने विषयमा पनि उनीहरुको सल्लाह भइरहेको थियो तर उनीहरुको संवादले ‘दाल मेँ कुछ काला है’ भनेर अनुमान लाउन गाह्रो भएन ।

करिब एक घण्टाको मसाजपछि आएका ग्राहक मुस्कुराउँदै बाहिरिए । फेरि युवतीहरुले पानी अफर गरे । उनले पिए । कस्तो भयो त मसाज ? ‘बबाल नि ! ह्याप्पी इन्डिङ नहुने कुरै थिएन,’ मन्द मुस्कानसहित उनी बोले । त्यहाँ उनले एक घण्टाको बडी मसाजको १२ सय रुपैयाँ तिरेछन् जसभित्र ‘ह्याप्पी इन्डिङ’ पनि पर्यो । ‘भित्र थप एक सय रुपैयाँ टिप्स पनि दिए,’ उनले सुनाए ।

०००

एक साताभित्र राजधानीस्थित ठमेल, दरबारमार्ग, लाजिम्पाट, पुल्चोक, पाटनलगायत विभिन्न स्थानमा खोलिएका मसाज सेन्टर र स्पामा पुग्दा थाहा भयो– नेपालीहरुमा ‘ह्याप्पी इन्डिङ’ गर्न मसाज धाउने ट्रेन्ड बढेछ । मसाज सेन्टरको आवरणमा यौन व्यवसाय चलाइरहेको खबर पहिले–पहिले पनि धेरै आएको हो । प्रहरीको निरन्तर छापाका कारण यौन व्यवसाय चलाउन सुरक्षित नठान्नेहरुले पनि ग्राहकलाई खुसी पार्न ‘हात’बाटै सेवा दिन थालेको एक मसाज सेन्टरका सञ्चालकले नाम नखोलिदिने सर्तमा बताए ।

प्रहरीलाई पनि मसाज सेन्टरमा हुने अनैतिक क्रियाकलापबारे राम्रो जानकारी छ । महानगरिय प्रहरी वृत्त सोह्रखुट्टेले त ठमेल पर्यटन विकास परिषद्, नेपाल मसाज व्यवसायी संघ, नागरिक समाज लगायतसँग सहकार्य गरेर बेलाबेला अनुगमन नै गर्ने गरेको छ । एक महिना अघिमात्र आचारसंहिता उल्लंघन गरेका र अनैतिक क्रियाकलाप गरेको अवस्थामा भेटिएका ठमेलका १० वटा मसाज सेन्टर बन्द गरेका महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

‘हामीले १५ जनालाई समातेर पनि ल्याएका थियौँ,’ उनले भने, ‘प्रहरी एक्लैमात्र छापा मार्न जाँदा महिनावारी उठाउन आयो, हप्तावारी उठाउन आयो भन्ने आरोप लगाउने गर्छन् । त्यसैले हामी अरुसँग सहकार्य गरेर जाने गर्छौं । कतै अनुगमनका क्रममा कन्डम भेटिन्छ, कतै ढोका थुनेको अवस्थामा जोडी भेटिन्छ ।

मसाजमा कन्डम किन चाहिन्छ ? ढोका किन थुन्नुपर्छ ? त्यसैले गलत काम हुन्छ भनेर अड्कल काट्न गाह्रो छैन ।’ उनले मसाज सेन्टरमा हुने धन्दालाई रोक्न गाह्रो भएको बताए । ‘यो त मुसा र बिरालोको खेलजस्तो मात्र भयो,’ उनले भने, ‘छापा मारेको केही समय पालना गरेजस्तो गर्छन्, फेरि उल्लंघन गरिहाल्छन् । यो धन्दा रोक्न राज्यस्तरबाटै समाधान खोजिनुपर्छ भन्ने लाग्छ ।’

सिधा ‘सेक्स डिल’

ब्यानरमा प्रस्ट लेखिएको हुन्छ– मसाज सेन्टर, पार्लर अथवा स्पा । सोमबार ठमेलका केही मसाज सेन्टर पुग्दा भित्र सिधै ‘सेक्स डिल’ हुने गरेको पाइयो । ठमेलको एटलान्टिक बडी केयर स्पाको चिटिक्क परेको ब्यानर देखेपछि हामी माथि पुग्यौँ । ब्यानरमा स्टिम बाथको सुविधा पनि लेखिएको थियो । माथि उक्लिएपछि काउन्टरमा एक महिला चुरोटको सर्कोमा मग्न थिइन् । ‘अहिले त दुवैजना बिजी छन्, एकछिन पछि आउनुन ल,’ उनले सुरुमै भनिन् । के–के छ त सर्भिस ? भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन्, ‘सबथोक हुन्छ । बस्ने हो भने थप हजार रुपैयाँ दिनुपर्छ ।’

त्यसपछि ठमेलको नर्सिङ चोकमा रहेका फिसटेल स्पामा पुगियो । त्यहाँ चार युवतीहरु देखिन्थे । त्यहाँ रहेकी एक युवतीले मसाज गरेको मूल्य सोध्दा सुरुमा १५ सय भनिन् । पछि १२ सय रुपैयाँमा तयार भइन् । मसाजमात्रै त के गर्नु र ? घुमाउरो प्रश्नमा ती युवतीले सिधा जवाफ दिइन्, ‘थप मज्जा लिनलाई पैसा थप्नुपर्यो नि ! त्यत्तिकै कहाँ रमाइलो हुन्छ ?’ अन्त्यमा ती युवती १५ सय रुपैयाँमा मसाज र रमाइलो दुवै गर्न तयार भइन् । त्यसपछि हामी एकछिन पछि आउने सर्तमा बिदा भयौंँ ।

सोमबार साँझै ठमेल त्रिदेवी मार्गस्थित एक भवनको चार तल्लामाथि रहेको आयुर्वेद स्पा पुग्यौंँ । पाँच महिला ग्राहकको व्यग्र प्रतीक्षामा देखिन्थे । हामीले एक सहयोगी (ग्राहक) लाई लिएर अनुगमनमा हिँडेको थियो । त्यहाँ १५ सयमा एक घण्टा र ८ सयमा आधा घण्टा मसाज हुने बताइन् । अरु के–के सर्भिस छ त ? भन्ने प्रश्नमा ती महिलाको जवाफ कूटनीतिक थियो, ‘मसाजको पैसा तिरेर भित्र जानुस् । अरु सर्भिसको कुरा भित्रै गर्नुस् न ! मन मिल्ने कुरा न हो ।’ उनको जवाफको आशय बुझ्न गाह्रो थिएन ।

ग्राहक हाम्रा शिवजी !

सोमबार ठमेलकै न्यु श्री गेस्टहाउसमाथि पहिलो तल्लामा रहेको मसाज सेन्टरमा रोचक दृश्य देखियो । अगरबत्ती धुप बालेर मसाज सेन्टरकी एक युवती पूजा गरिरहेकी थिइन् । ढोकामा पूजा गरिरहेकै बेला हामी त्यहाँ पुग्यौँ । किन यसरी पूजा गर्नुभएको हो ? प्रश्न भुइँमा खस्न नपाउँदै चारमध्ये एक युवती बोलिन्, ‘राम्रो–राम्रो शिवजी आउनुस् अनि आशीर्वाद दिनुस् भनेर नि !’ त्यसमै अर्की युवतीले थपिन्, ‘शिवजीकै लागि यहाँ पार्वतीहरु रेडी छौँ नि !’ के–के सुविधा छ त यहाँ ? एक युवतीलाई सुटुक्कै सोधे । ‘एक घण्टा मसाज गरेको १२ सय रुपैयाँ ।

‘बस्ने हो’ भनेचाहिँ एक हजार रुपैयाँ,’ युवतीको उत्तर थियो । अलि महंगो भएन र भन्दै भर्याङतिर फर्कन खोज्दा उनले भनिरहेकी थिइन्, ‘मिलाइदिन्छु नि ! आउनुस् न बस्नुस् । सात सय दिनुस् न । कस्तो लोधर शिवजी पर्नुभएछ !’ स्थलगत रिपोर्टिङका क्रममा ठमेल क्षेत्रपाटीको ‘रोयल हेभन’ स्पा, ‘निल मेघा स्पा’ लगायतमा पनि ह्याप्पी इन्डिङ हुने गरेको खुलेको थियो ।

‘केही स्तरीय स्पाबाहेक प्रायःमा ह्याप्पी इन्डिङ हुन्छ,’ मसाज र स्पाका नियमित ग्राहक रहेका चक्रपथका आकाश तिमिल्सना (नाम परिवर्तन) ठोकुवा गर्छन्, ‘यति नभइ त मसाज सेन्टर चल्छ पनि कसरी ? जिउ मालिस गर्नलाई मात्र को त्यहाँ जान्छ र ? रमाइलो त हुनैप¥यो नि ।’

बाध्यताले मसाजसम्म

मसाज सेन्टर र स्पामा काम गर्ने अधिकांश कर्मचारीको आ–आफ्नै बाध्यता हुन्छन् । कसैलाई श्रीमानले छाडेको, आर्थिक अवस्था कमजोर लगायतका कारणले उनीहरुलाई मसाज सेन्टरसम्म अश्लील काम गर्न बाध्य बनाउने गरेको रिर्पोटिङका क्रममा खुल्यो । ‘हामीलाई त ग्राहकले नै जथाभावी मसाज गर्न लगाउँछन्,’ ठमेल सोह्रखुट्टेको एक मसाज सेन्टरमा कार्यरत अनिसाले भनिन्, ‘ग्राहकले नै बानी पारेका हुन् । ८–१० हजार तलबले मात्र पुग्दैन । त्यसैले टिप्सका लागि पनि उनीहरुले भनेको मान्नुपर्ने हुन्छ ।’

यता डिएसपी राठौर पनि मसाज सेन्टरबाट पक्राउ पर्ने महिलाहरुलाई कारवाही गर्न नै अप्ठेरो हुने बताउँछन् । ‘कसैको दुई महिनाको बच्चा हुन्छ, कसैको १० महिनाको,’ उनले भने, ‘सबैका आ–आफ्ना दर्दनाक बाध्यता हुन्छन् । त्यसैले उनीहरुलाई नैतिक र सामाजिक दबाबका कारण पनि धेरैबेर थुनामा राख्न सकिँदैन ।’

शुक्रवारबाट साभार गरिएको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *