धर्तीको एक कुना, जहाँ ज्वालामुखी निस्किरहन्छ, पानीको साटो तेजाबको तलाउ (फोटोसहित)

इथियोपिया, भदौ १४ । मानव जीवनका लागि हावा, पानी र खाद्यान्न आवश्यक पर्दछ । निकै चिसो र निकै गर्मी ठाउँमा मानव जीवनको सम्भावना रहँदैन ।

पूर्वी अफ्रिकास्थित इथियोपियामा यस्तो स्थान छ, जहाँ आगोको बर्षा हुन्छ । यसलाई विश्वकै सबैभन्दा गर्मी हुने ठाउँका रुपमा चिनिन्छ ।

दानाकिल डिप्रेसन यस्तो ठाउँ हो जसको कोखमा धर्तीको तीन कन्टिनेन्टल प्लेट आपसमा ठोक्किन्छ । त्यसैले यहाँको धर्तीबाट लाभा र एसिड बाहिर निस्किन्छ ।

यहाँको औसत तापक्रम ४५ डिग्री सेल्सियस हुन्छ । यो ठाउँलाई कतिपयले ‘नर्कको ढोका’ पनि भन्ने गर्दछन् । भयंकर गर्मी र पुरै क्षेत्रमा पानीको साटो एसिड पाइने हुनाले यहाँ जीवनको सम्भावना निकै कम हुन्छ । यद्यपि यहाँ जीवनको केही निशान भेटिन्छ । सो क्षेत्रबाट संकलन गरिएका माटो र पानीको नमूनामा केही ब्याक्टेरिया पाइएको छ । केही दूरीमा स्थानीय आदिवासीको सानो बसोबास पाइन्छ ।

समुद्री सतहबाट ३३० फिट होचो यो स्थानमा निकै कम वर्षा हुन्छ । पानीको सट्टामा यहाँको जमिनमा पग्लिएको लाभा र एसिडका तलाउ देख्न पाइन्छ ।

दानाकिलको पानीमा पीएच स्तर ०.२ पाइन्छ । अर्थात् यहाँको पानीमा हाइड्रोजनको मात्रा उच्च हुन्छ । हावामा पनि क्लोरिन र हाइड्रोजन ग्याँसको मात्रा बढी पाइन्छ ।

इटलीको बोलोना विश्वविद्यालयकी प्रोफेसर बारबरा क्वालाजीले यस क्षेत्रमा निकै लामो शोध गरेकी छन् । उक्त क्षेत्रमा पैदल हिँड्ने बेला निकै सावधानी अपनाउनुपर्ने उनी बताउँछिन् । जमिनमा थोरै हलचल भएमा पनि पाइला राख्न नहुने उनको भनाइ छ । दलदलमा पाइला भासिनासाथ त्यहाँबाट निस्कन नसकिने र तातो लाभाका कारण जल्नबाट बच्न नसकिने उनी बताउँछिन् । (बीबीसी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *