यसपालिको बाढी : कर्मचारीका लागि फलिफाप

गौर, १३ भदौ । साउनको अन्तिम साता आएको बाढीका कारण रौतहटको सदरमुकाम गौरमा रहेका सरकारी कार्यालयका कागजात कामै नलाग्ने भएको छ । सरकारी कार्यालयका अत्यावस्यक कागजात पानीले भिजेपछि कर्मचारीलाई हैरानी भएको छ । उनीहरू बाढीले भिजेका कागजात सुकाउनमा व्यस्त रहेका छन् । जिल्ला अस्पताल गौरमा रहेका कागजात बाढीले भिजेपछि अहिले सम्म कर्मचारी कागज सुकाएर अत्यावस्यक कागजातको संरक्षणमा जुटेका छन् ।

जिल्ला अस्पताल गौरमा रहेको कर्मचारी निवासमा काम लाग्ने कागजातको बिस्कुन लगाएर राखिएको छ । काम लाग्ने कागज समेत बाढीले डुवायो अहिले कर्मचारीलाई कागजात सुकाउन भ्याई नभ्याइ छ, कार्यालयका कर्मचारी नवल किशोर झाले बताए । तर, केही कर्मचारीका लागि बाढी भने बरदान साबित भएको कर्मचारीहरुले बताएका छन् ।

जिल्ला अस्पताल गौरका एक कर्मचारीका अनुसार कार्यालय प्रमुख झाले भनेझै कागजात सुकाउन नभएर केही कर्मचारी कागजात लुकाउन सक्रिय रहेका छन् । जिल्ला अस्पतालबाट पेस्की लिएका कर्मचारीहरू भिजेको कागज लुकाएर आफूले लिएको पेस्की रकम पचाउन सक्रिय रहेको आफ्नो नाम नबताउने सर्तमा एक जना कर्मचारीले बताए । कर्मचारीकै चरम लापारवाहीका कारण गौरमा रहेको डिभिजन सहकारी कार्यालयको कागजात समेत पूर्ण रूपमा भिजेर कामै नलाग्ने भएका कारण कागजको बिस्कुन लगाउने काम अहिले सम्म रोकिन सकेको छैन ।

देवाही गोनाही नगरपालिकाको तत्कालीन देवाही गाविसको सदरमुकाम गौरमा रहेको कार्यालयको सम्पूर्ण कागजात नष्ट भएको छ । विगत लामो समय देखी सो गाविसको कार्यालय हालको नगरपालिकाको वडा कार्यालय सदरमुकाम गौरमै सञ्चालन रहेको थियो । जिल्ला समन्वय समिति रौतहटको समेत कागजात यति बेला कर्मचारी सुकाउने काममा व्यस्त रहेका छन् ।

सो कार्यालयको महत्त्वपूर्ण कागजात बाढीको पानीले भिजेका कारण कर्मचारीहरू सुकाउन व्यस्त रहेको जिल्ला समन्वय समिति रौतहटका प्रमुख उमेश बस्नेतले बताए । बाढीले कागजात भिजेपछि कसैलाई हैरानी भएको छ, भने केही कर्मचारीका लागि भने फलिफाप भएको छ । पेस्की लिने कर्मचारीले पेस्की बापत लिएको प्रमाण भएको कागजात नै पानीमा नष्ट गराउने काम गरेको कर्मचारी स्रोतले बताएको छ । सो कार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय गौरका कर्मचारी अग्रपंत्तिमा रहेका बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =