सिंहदरबारभित्र सेल्फी खिच्ने राज्यमन्त्रीहरु भन्छन्-‘राज्यमन्त्री नै नभई त के स्वर्ग जानु हौँ !’

“
काठमाडौँ, भदौँ १२ । छोटो समयका लागि धेरै मन्त्री तथा राज्यमन्त्रीहरु देउवा सरकारमा भित्रिएका छन् । लहरो तान्दा पहरो थर्किने गरी भदौँ ६ गते थप १५ जना राज्यमन्त्री थपिए । यसअघि ( ४ गते) माओवादी केन्द्रबाट ८ भित्रिइसकेका छन् । ६ गते नेपाली काँग्रेस र फोरम लोकतान्त्रिक गरेर १५ राज्यमन्त्रीले गलामा माला लगाएसँगै देउवा सरकारमा २३ जना राज्यमन्त्रीसहित ५० जनाको जम्बो मन्त्रिपरिषद् बनेको छ । अब, चार मन्त्रालयका चार राज्यमन्त्री थप्न बाँकी नै छ ।
राज्यमन्त्रीको नाम एक पटक फेरि स्मरण गरौँ । काँग्रेसले सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात),सरिता प्रसाई (कृषि विकास),शेषनाथ अधिकारी(शिक्षा),नरबहादुर चन्द(वाणिज्यं),अब्दुल रज्जाकगद्दी(खानेपानी तथा सरसफाई),तप्तबहादुर विष्ट,(सूचना तथा सञ्चार)अमरसिंह पुन,(सिँचाइ),दिलमान पाख्रिन (कानुन,न्याय तथा संसदीय मामिला),उदयशम्सेर राणा (अर्थ),डिल्लीबहादुर चौधरी(श्रम तथा रोजगार),तेजुलाल चौधरी(युवा तथा खेलकुद),चम्पादेवी खड्का (सहकारी तथा गरिबी निवारण) राज्यमन्त्री रहेका छन् भने लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी (सङ्घीय मामिला तथा स्थानीय विकास),सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन),यसोदा कुमारी लामा (भूमिसुधार तथा व्यवस्था) राज्यमन्त्री बन्न सफल भएका छन् । अब,उद्योग, वन तथा भू–संरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुन निर्मांण गरी चार मन्त्रालयमा राज्यमन्त्री बन्नेहरुको दौडधुप चलिरहेको छ ।
के गर्नुपर्छ राज्यमन्त्रीले ?
राज्यमन्त्री बने एक साता पछि पनि सेल्फी र स्टाटसको धुइरो छ,सिहंदरबारतिर । पत्रकार बन्धु, आफन्तजनहरु बधाई र सेल्फी खिच्न अझै सिंहदरबार धाइनै रहेका छन् । हो, भाग्यले सरकारमा पुग्न सफल नयाँ राज्यमन्त्रीहरुको सेल्फी कार्यक्रम लम्बिनै रहेको छ । बधाई दिने र भेट्न आउँनेलाई इन्कार गर्न नसकिने स्वंयम नव राज्यमन्त्रीहरुले गुनासो पोख्छन् । राज्यमन्त्रीलाई ढाँड नदुखोस् भनेर ओछ्याईएको टावल मैले भएका पनि देखिन्छन् । सायद पूर्व राज्यमन्त्रीले धलीमुली गरेको हुनसक्छ । सिहँदरबार छिर्ने जो कोहीले यो दृश्य देख्न सकिन्छ । अहिले त्यो टावल सफा गर्न नव राज्यमन्त्रीहरुले सहयोगीहरुलाई अह्राइरहेका छन् । ता कि चाँडो सफा गरेर उफरखुट्टिका साथ बस्न पाउँ ।
एक उदाहरण : उनी हुन्, दुई पटक राज्यमन्त्री बनेकी यशोदा
यस्तै, भाग्यले फेरि राज्यमन्त्री बन्न सफल भएकी छिन्,दलित जनजाति पार्टी नेपालकी अध्यक्ष यशोदा कुमारी लामा । सरकारले थ्रेस होल्ड नीति ल्याएपछि आत्तिएका उनी लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग पार्टी मर्ज गरेर फेरि एक पटक मन्त्री बन्न सफल भएकी छिन् । पत्रकारलाई भेट्दा ‘यशोदाले राज्यमन्त्री खान्छ ? फुल मन्त्री पाए गइन्छ नत्र बसिन्छ ।’भन्ने उनी दुई पटक राज्यमन्त्री बनेकी छिन् । प्रचण्ड सरकारको नौँ महिने आयु टुङगिन करिब एक साता बाँकी रहँदा राज्यमन्त्री बनेकी उनी अहिले फेरि देउवा सरकारमा चान्स मारेकी छिन् ।
विजय गच्छदारलाई पार्टी कार्यालय राख्न सित्तैमा दिएका भिएस निकेतन स्कुलका संञ्चालक बाबुराम पोखरेलले आपफूलाई मात्रै एक चोटि हाफ् मन्त्री भए पनि बनाउन गच्छदारसँग अनेक रोइ कराई गरे पनि यशोदाले पाखुरी धसेपछि पोखरेल चिल्लै हुनुपरेको हल्ला पनि नचलेको होइन । यशोदा तिनै महिला नेतृ हुन्, दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पाशवनसँग लाप्पा खेलेर ‘तँलाई भोलिको दिनमा नदेखाइ कहाँ छाड्छु’ भन्दै पार्टी टुक्र्याएकी थिइन् । पार्टी फुटाएको केही समय उनी हावा खान जन्म थलो सिन्धुलीतिर गएकी थिइन् । सिन्धुलीबाट फर्केको केही समयपछि नै सरकारले समानुपातिकमा तीन प्रतिशत मत सहित प्रत्यक्षमा एक सीटेलाई मात्र प्रतिनिधिसभामा चुन्ने आदेश दिएपछि उनी लोकतान्त्रिकतिर सरेकी हुन् ।
सुखी जीवन
हाल उनी बूढानिलकण्ठ न.पा.,कपन गाविसको शिवमन्दिर टोलमा निर्माण गरेको सुविधा सम्पन्न निवासमा बस्छिन् भने श्रीमान् ले कारमा चढाएर सिंहदरबारको कुर्सीसम्म ल्याइपुर्याउँछन् । पदका लागि होइन देश विकासका लागि आफूले राज्यमन्त्री खान गएको बताउने उनको आफ्नै साधारण कार छ । दुई छोराहरू युरोपियन मुलुकमा छन् । उनलाई कुनै चिजको कमी छैन । विजय गच्छदारले यशोदालाई नभएर भिएस निकेतनका साहू बाबुरामलाई राज्यमन्त्री बनाउँने हद प्रयास गरेका थिए । तर, यशोदाले गच्छदारसँग पार्टी मर्ज गर्नुको औचित्य केलाउँदै ‘खबरदार’ भनेपछि मधेसी नेता गच्छेदारले लामासँग गरिएको बाचा सम्झेर ‘साँची हो त है’ भन्दै यथास्थितिमा फर्किएका थिए । स्मरण रहोस्, यसअघि प्रचण्ड सरकारमा पनि उनले यही बिटको राज्यमन्त्री भएर एक हप्ते कार्यकाल सम्हालिसकेकी छिन् । स्रोतका अनुसार एक हप्ताअवधिभर भूमिसुधार बसेर अलमलमा परेको र फेरि थप जान्न आफूले मन्त्री खाएको बताइन्छ । उनले स्नातक तहसम्मको अध्ययन पूरा भने गरेकी छिन् ।
कति कमाउँछन् राज्यमन्त्रीले ?
बाहिर एकथरि तलब भत्ता सुनाइएपनि भित्र पुगेपछि रनभुल्लमा परिन्छ । प्रधानमन्त्री हो कि राज्यमन्त्री । खुट्ट्याउनै सकिँदैन । एक जना राज्य मन्त्रीको भागमा मासिक ५० हजार तलब,४० हजार घर भाडा, बिजुली चियापानी, पत्रिका, मसलन्द खर्च लगायत शीर्षकमा २६ हजारदेखि माथि पाउँछन् । अब, तपाईँ आफैँ हिसाब गर्नुस् त २३ जना राज्यमन्त्रीले मात्रै एक महिनामा जनताबाट उठाइएको कर कति पचाउँदा रहेछन् ? हिसाब एउटा आउँला तर वास्तविक हिसाब निकाल्न कठिनै छ । सरदरमा भन्ने हो भने मासिक १२ करोडभन्दा बढी तलब बुझ्छन् ।
के के छ सुविधा ?
प्रत्येक राज्यमन्त्रीलाई आफ्नो सचिवालयका लागि १ जना उप सचिव, एक जना शाखा अधिकृत, नायब सुब्बा, दुई जना चालक र दुई जना कार्यालय सहयोगी चाहिन्छ भने तीन वटा गाडी समेत छुट्याइने स्रोत बताउँछ । जुन सवारी राज्यमन्त्री, स्वकीय सचिव लगायतका लागि विभाजन गरिएको हुन्छ । यसै अनुरूप उनीहरू सिंहदरबारबाट यता उता डुल्न निस्कन्छन् । थाहा पाइराख्नुस्,राज्यमन्त्रीका स्वकीय सचिवले मात्रै मासिक डेढ बढी कुम्ल्याउँछन् ।
राज्यमन्त्रीहरुले आफ्ना लागि तत्काल निवास खोजिदिन सरकारसँग ताकेता गरिरहेको छ । पुल्चोकमा रहेको सरकारी आवासमा राज्यमन्त्री त मन्त्री नै नअटेपछि कहिलेकाहीँ झगडा हुनेसमेत गर्छ । २६ जना (फुल) मन्त्रीमध्ये त्यहाँ १९ जनामात्रै जसोतसो अटेस मटेस भई बसेका छन् । आफ्नो निवास भएका मन्त्री तथा राज्यमन्त्रीहरु त सहजै भए पनि भाडामा बस्नेहरुलाई गाह्रो भएको देख्न नसकेरसहरी विकास मन्त्रालयले उनीहरूका लागि घर भाडा खोजिरहेको छ । मन्त्रालय स्रोतका अनुसार अब केही दिनभित्रै राज्यमन्त्रीहरुको आवासको टुङ्गो लाग्ने छ ।
घर हुने र नहुने राज्यमन्त्रीहरुको हालत
यशोदा कुमारी लामाजस्ता घर हुने राज्यमन्त्रीहरुले सरकारले आवासको व्यवस्था गरे पनि ठीकै छ नगरेपनि ठीकै छ भन्दै बेवास्ता गरेको बताइन्छ । भाग्यले फेरि मन्त्री खान पाइयो भन्ने उनीहरू आफ्नै तालमा बरालिएर हिँड्ने गरेका छन् तर, भाडामा बस्ने राज्यमन्त्रीहरुले भने आफूहरुलाई चाँडो आवास व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । भाडामा बसेको घरबेटीको कोठा फोहोर, इन्टरनेट अति सुस्त र घरबेटीका छोरा छोरीले साह्रै हल्ला गरेको भन्दै केही राज्यमन्त्रीहरुले गुनासो राख्ने गरेको स्रोत बताउँछ ।
रेकर्ड ब्रेक
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ४० औँ प्रधानमन्त्री बन्ने सौभाग्य हो,यो । ०५२ सालमा प्रधानमन्त्री बन्दा देउवाले ४८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । हाल त्यो रेकर्ड ब्रेक गर्दै ५० सदस्यीय मन्त्रीपरिषद् गरेका छन् । माओवादीको दश बर्से जनयुद्धसँगै गणतन्त्रपछि ५० सदस्यीय मन्त्रिमण्डल विस्तारमा देखिएको यो पहिलो घटना हो । यति ५० जनाको सदस्यले मात्र सरका हाँक्न नसक्ने भइएपछि सरकारले अझै आठ जना जति राज्यमन्त्री थप्ने बताइन्छ । यसअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले देउवाको रेकर्ड तोडेर ४९ सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेका थिए ।
बिगनिङ एण्ड इन्डिङ
आफूहरूले राज्यको हकहितका लागि आन्दोलन, परिवार र समाज नै त्यागेको बताउँने सांसदहरुले एक दुई लाखको सुविधा नपाए के सांसद भन्दै आक्रोश देखाउँने प्रवृत्ति पुरानो नै हो । तर, अहिले यो प्रवृति मोडिएको छ । ‘धर्तीमा जन्मिइयो,राजनीति पनि गरियो’ तर राज्यमन्त्री नै नभई के स्वर्ग जानु हौँ भन्दै उनीहरू राज्यमन्त्री बन्न पार्टी मर्जरदेखि पार्टी फुटाउन सम्म पछि नपरेको पार्टीकै कार्यकर्ताहरूले खुलेआम भन्ने गरेका छन् । ‘अवसर पाउँदा स्वाभिमान भएर मौका चुकाउनेको हालत यस्तै भएको छ’ भन्दै उनीहरू जसरी हुन्छ राज्यको उच्च पदमा नपुगी केहीँ पार नलाग्ने खण्डन मण्डन गर्ने गरेका छन् ।
“








