भ्रष्टाचार विरुद्ध वीपी प्रतिष्ठानका कर्मचारी आन्दोलित

भाद्र १२, काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका अनियमितता, भ्रष्टाचार छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न कर्मचारी कल्याण समाजले माग गरेको छ । समाजको आज (आइतबार) बसेको बैठकले प्रतिष्ठानमा खरिद गर्न लागिएको MRI उपकरण खरिदमा ६ करोड भन्दा बढी भ्रष्टाचार भएको, नयाँ नेतृत्वले प्रतिष्ठानको विकास, विस्तारमा कुनै काम नगरेको भन्दै प्रतिष्ठानलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रतिष्ठानले खरिद गर्न लागेको MRI मेसिनमा भ्रष्टाचार भए नभएको सत्यतथ्य छानबिन गर्न ३ सदस्यीय समिति समेत गठन गरेको छ । प्रतिष्ठानले खरिद गर्न लागेको MRI उपकरणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फायल नियन्त्रणमा लिएपनि छानबिन नगरेपछि सत्य तथ्य सार्वजनिक गर्न आफैँ लागि परेका हुन् ।

समाजले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिष्ट्रार तथा एसोसिएट प्रोफेसर श्याम लम्सालको संयोजकत्वमा योजना, अनुगमन तथा मुल्याङकन समितिका मेनेजर दिनेशराज दाहाल सदस्य र प्रतिष्ठानका लेखा समितिका सुपरभाइजर कमल रायमाझी सदस्य सचिव रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

उक्त समितिलाई प्रतिष्ठानले ५ दिन भित्र विगतमा MRI खरिदको प्रक्रिया भई रद्द गरिएको टेण्डर सम्बन्धी कागजातहरू र हालै विवादस्पद देखिएको MRI खरिद सम्बन्धी टेण्डरको कागजातहरू उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

प्रतिष्ठानमा नयाँ नेतृत्व आएको ६ महिना भईसक्दा पनि प्रतिष्ठानको विकास र विस्तार, शिक्षक, कर्मचारीको वृत्ति विकासका विषयमा कुनै काम नगरी पदाधिकारीहरू भ्रष्टाचारमा लिप्त भएको भन्दै समाजले व्यवस्थापनलाई ध्यानाकर्षणपत्र बुझाएका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए ।

समाजले बुझाएको ध्यानाकर्षण पत्रका विषयमा व्यवस्थापन पक्षले पाँच दिनभित्र सम्बोधन गर्नुपर्ने अल्टिमेटम दिइएको छ । ज्ञापनपत्रमा गत आ.व. २०७३/०७४ मा प्रतिष्ठानले क्यान्सर र मुटु रोग सम्बन्धी अस्पताल भवन निर्माण गर्न भनी खरिद प्रक्रिया समेत सुरु गरी सोको शिलबन्दी खोल्ने अन्तिम समयको २ घण्टा अगाडि टेण्डर रद्द गरिएको विषयमा प्रस्ट पार्नुपर्ने, उक्त निर्माण कार्यका लागि नियुक्त परामर्शदातालाई के कति कारणले र कस्तो नियतले लगभग ७ करोड गत आ.व. मै हतारमा भुक्तानी दिइएको हो सोको पनि जानकारी दिनुपर्ने बताईको छ ।

यसै गरी प्रतिष्ठानकै हाताभित्र निर्माणाधीन MCH भवनको सोही परामर्शदातालाई लागतको करिब १.४ प्रतिशतमा ठेक्का दिइएको नजिर हुँदाहुँदै क्यान्सर र मुटु रोग सम्बन्धी भवनको परामर्शको निमित्त ३.६ प्रतिशतमा ठेक्का दिनुको कारण पनि स्पष्ट पार्न भनिएको छ । प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई बुझाईएको ध्यानाकर्षण पत्रमा ४०० शैया क्षमताको क्यान्सर र मुटु रोग उपचार केन्द्रको टेण्डर रद्द गरी सोको बजेटबाट MRI खरिद गर्नुको कारण समेत माग गरिएको छ । सरकारले प्रतिष्ठानलाई मेशिन उपकरण शीर्षकमा विगत देखि नै माग गरे अनुसार पर्याप्त बजेट रकम दिँदै आएको र आर्थिक वर्ष ०७२/०७३ सम्म प्रतिष्ठानको आन्तरिक श्रोत प्रयोग गरी मेशिन उपकरण खरिद गरिएको अवस्था नहुँदा नहुँदै यस पटक प्रतिष्ठानको करिब रु. ७ करोड रकम प्रयोग गरी मेशिन उपकरण खरिद गर्नु पर्ने बाध्यता किन र कसरी सृजना भयो भन्ने विषयमा पनि जानकारी माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा उच्चस्तरीय तलबमान आयोगले सिफारिस गरे अनुरूप प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूको तलब तथा भत्ता चालु आ.व. को श्रावण महिना देखि नै स्वतः वृद्धि भएको तलब तत्काल वितरण गरिनुपर्ने, महगीं भत्ता हाल सम्म उपलब्ध गराउनु पर्ने, शिक्षक/कर्मचारीहरुको तलब भत्ता वृद्धि हुँदा नेपाल राष्ट्र बैङ्कको मूल्य वृद्धि दर अनुसार गर्नु पर्ने, प्रतिष्ठानमा सेवारत दैनिक ज्यालादारी कर्मचारीलाई करार नियुक्ति दिनुपर्ने, करार कर्मचारीलाई परफरमेन्स करार दिनुपर्ने, परफरमेन्स करारलाई स्थायी गर्नुपर्ने तथा नर्सिङ, प्रशासनिक तथा पारामेडिक्स कर्मचारीको आवश्यक परेमा थप दरवन्दी समेत सिर्जना गरी सबै तहको नियमित आन्तरिक बढुवाको विज्ञापन गर्नुपर्ने माग राखिएको छ ।

यसै गरी प्रतिष्ठानले निर्णय गरी Sr.Technical Asst. (ANM) हरुलाई Sr. ANM बनाउन आवश्यक Curriculum बनाई अध्ययन तथा तालिम समेत गराइसकेको हुँदा निजहरुलाई बढुवा गर्नुपर्ने र आन्तरिक बढुवाका हकमा विगतमा भएको प्रक्रिया सम्बन्धी वैकल्पिक उम्मेदवारवाट पदपूर्ति गर्ने प्रतिष्ठानको कार्यकारीणी समितिको निर्णय लागू गर्नुपर्ने, परफरमेन्स तथा फायल मूल्याङ्कनको आधारमा बढुवा गर्ने व्यवस्था लागु हुनुपर्ने माग गरिएको छ ।

यसै गरी प्रतिष्ठानको इमरजेन्सी, आई.सी.यु. डायलाइसीस, रेडियोलोजी, प्रयोगशाला लगायतका सेवाहरुलाई चुस्तदुरुस्त राखी क्षमतावृद्धिको सुरुवात गर्नुपर्ने तथा सर्वसाधारणको उपचार जबरजस्ती पेइङ सेवावाटै गराउने वातावरणको अन्त्य गर्नुपर्ने, साथै पेइङ सेवामा संलग्न कर्मचारीहरुले पाउंदै आएको सुविधा एकाएक उपलब्ध नगराएकाले उक्त सुविधा तत्काल उपलब्ध गराउनुपर्ने माग छ ।
प्रतिष्ठानबाट राम्रा चिकित्सक बाहिरीएको अवस्थामा डिएम/एमसिएच गरेका तथा अन्य विशेषज्ञहरुलाई प्रतिष्ठानमा स–सम्मान काम गर्ने नीति तय गरी लागु गर्नुपर्ने र विशेषज्ञ ल्याई न्यूरो सर्जरी सेवा तत्काल सुचारु गर्नुपर्ने माग गरिएको छ ।

प्रतिष्ठानको हातामा सञ्चालित KIDG लगायत व्यापारिक प्रयोजनको निमित्त सञ्चालित टेण्डर प्रक्रिया तथा आम्दानी विवरण सार्वजनिक गर्नुपर्ने र नियम विपरीत ठेक्का लगाइएका हकमा ठेक्का रद्द गर्नुपर्ने तथा पुनः ठेक्का प्रक्रियामा नगई समय बढाइएका हकमा पुनः ठेक्का आव्हान गर्नुपन भनिएको छ । भने, समाजले गत आ.व. २०७३/०७४ को प्रतिष्ठानको आन्तरिक आयको खर्च विवरण सार्वजनिक गर्नुपर्ने र चालु आ.व.२०७४/०७५ को सो सम्बन्धी योजना सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

समाजले प्रतिष्ठानमा नियुक्ति भएका पदाधिकारीको नियुक्ति पत्रमा समेत आशंका गर्दै नियुक्ति पत्र सार्वजनिक गर्न माग गरेको छ । अस्पताल निर्देशकको नियुक्ति नियम सङ्गत हो होइन ? हो भने किन हालसम्म नियुक्ति पत्र प्रतिष्ठानको सम्बन्धित शाखाहरुमा उपलब्ध गराइएन ? लगायतका १६ बुँदा पेस गरिएको छ ।

समाजले ५ दिन भित्र प्रतिष्ठानले आफ्ना मागहरू उपर सम्बोधन नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ । समाजका अध्यक्ष तामाङले प्रतिष्ठानमा नयाँ नेतृत्व आएको ६ महिना वितिसक्दा पनि कुनै सुधार नभएको, कर्मचारी, चिकित्सक, विद्यार्थीको मनोबल गिराउने काम गरेको, ठेक्कापट्टामा पारदर्शीता नअपनाएको र प्रतिष्ठानलाई नै सिध्याउने षड्यन्त्र गरेकोले आफूहरू सोको विरुद्धमा गएको बताए । उनले प्रतिष्ठानभित्रबाटै समस्याको समाधान नगरिए आफूहरू राज्यका विभिन्न निकायमा समेत जाने चेतावनी दिए ।

समाजको ध्यानाकर्षण बुझ्दै प्रतिष्ठानका उपकूलपति डा. रौनियारले समाजका मागहरुमा आफू सकारात्मक भएको बताए । उनले प्रतिष्ठानको सर्वोत्तम हितमा लाग्ने बताउँदै कर्मचारीहरूलाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

समाजले बुझाएको ध्यानाकर्षण पत्र प्रधानमन्त्री तथा कुलपति, स्वास्थ्यमन्त्री तथा सहकुलपति, अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतलाई समेत बोधार्थ पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *