मेघौलीका बाढीपीडितलाई राहत


“
किशोर खनाल, भरतपुर । हंस बहुउद्देश्यीय सहकारी संस्थाले भरतपुर महानगरपालिकाको वडा नं २८ का ३०५ घरधुरीका बासिन्दालाई करिब ५ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको छ । संस्थाले मेघौलीका पाँच गाउँमा चामल, तेल, नुनलगायतका खाद्यान्न सामग्री, ८० जना विद्यार्थीका लागि विद्यालय पोसाक, कापीकलम वितरण गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै विशिष्ट अतिथि भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह, वडा नं २८ का वडाध्यक्ष आशबहादुर कुमाललगायतको सहभागिता रहेको थियो । वडा नं २८ का वडाध्यक्ष कुमालको अगुवाइमा राहत वितरण गरिएको हो । संस्थाले हरेक सामाजिक कार्यमा आफूलाई संलग्न बनाउँदै आएको र बाढीबाट प्रभावित भएका व्यक्तिहरूलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले बताए ।
बाढी प्रभावित स्थानमा सरसफाइका लागि किटनाशक फिनेलसमेत वितरण गरिएको संस्थाका अध्यक्ष चुकेले बताए । संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चुकेले गरेका थिए ।
“
