युनाइटेडको लगातार तेस्रो जित

एजेन्सी– मार्कुस रासफोर्ड चम्केपछि शतप्रतिशत नतिजालाई निरन्तरता दिदै म्यानचेस्टर युनाइटेडले गए राती लेस्टर सिटीमाथि २–० को जित हासिल गरेको छ । परिवर्तित खेलाडीका रुपमा मैदान पसेको चार मिनेटपछि नै रासफोर्डले जादु देखाउने क्रममा गोलको खाता खोले ।

माराउने फिलानीले पनि आफ्नो भूमिकामा न्याय गर्ने क्रममा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेर गोल गरे । दिक्क लाग्दो पहिलो हाफमा युनाइटेडका लागि एक मात्र प्रयास हुवा माटाले गरे, तर उनको गोललाई अफसाइड लिइयो । दोस्रो हाफको सुरुआतमा पनि युनाइटेडको प्रयास खेर गयो ।

लगातार तीन खेलमा गोल गर्ने पहिलो खेलाडी बन्ने अवसरबाट रोमेलु लुकाकुलाई लेस्टरका गोलकिपर कास्पेर सेच्मिचेलले सफल हुन दिएनन् । ५३ औं मिनेटमा एन्थोनी मार्सियलको क्रसलाई डानी सिम्प्सनले ह्यान्डगरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । लुकाकुको पेनाल्टी विपक्षी किपरले रोकेका थिए ।

हेनरिख मखातारियनको कर्नरमा रासफोर्डले ७० औं मिनेटमा युनाइटेडका लागि गोल गरे । अल्मानियन मखातारियनको त्यो सिजनको पाँचौं असिस्ट थियो । खेल सकिन ८ मिनेट बाँकी रहँदा जेसी लिङगार्डको क्रसलाई उपयोग गर्दै फेलानीले गोल गरे, जसले युनाइटेड ३ खेलमा ९ अंक जोड्दै पुनः शीर्षस्थानमा उक्लन सफल भएको छ ।

शनिबारका अन्य खेलमा म्यानचेस्टर सिटी, न्युक्यासल र स्वान्सी सिटीले जित दर्ता गरे । सिटीले बोर्नमाउथलाई २–१ ले, न्युक्यासलले वेस्ट ह्यामलाई ३–० तथा स्वान्सीले क्रिस्टल प्यालेसलाई २–० ले हरायो । हडर्सफिल्ड र साउथह्याम्प्टन तथा वाटफोर्ड र ब्राइटनले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *