कथाः जात्रा


“
कथाः जात्रा
जात्रामै त भेटिएकी हो ऊ ! जीवन पनि जात्रा नै त हो ।
मानिसहरू आफ्नो चरित्र छोपेर सधैँ झुटो आवरणमै त हिँडेका छन् यहाँ । तर खै आज मुकुटहरू नाँच्दामात्र चाहिं किन जात्रा भो ! अचम्म छ यहाँ… झुटको खेतीलाई कसैले जात्रा भन्दैनन् । तर व्यङ्यको नाम दिएर वास्तविकता दर्शाउदा चाहिं दुनियाले रमाइलो मानी मानी ताली पिट्छन् ।
OO OO
इन्द्रचोकमा जात्रा हेर्न जाँदा त भेटिएकी हो ऊ ! खिस्स हाँसेर निच्च पर्दै त मन् चोरेकी हो गाउँले ठिटोको ।
“”मसँग बिहे गर्यौ भने गाउँमा बस्नुपर्छ, सक्छ्यौ ?””
“”अँ ! मलाई गाउँ मनपर्छ !””
“”घाँस काट्न नजाने भैंसी बेचौँला, तर पँधेरीबाट पानी त बोक्नुपर्छ । सक्छ्यौ ?””
“”….अँ ! गाग्री बोक्न नजाने बोतलमा ओसारेर पनि खुवाउँछु नि !””
यत्तिको जवाफ दिने मन भएका शहरिया केटी होलान् भन्ने मैले सपनामा नि सोच्या थिइन । त्यसैले त म उसको प्रेममा डुबे । चुर्लूम्मै !
…अँ साँच्ची जात्रा… मलाई जात्रा हेर्न सानैदेखि रमाइलो लाग्थ्यो । बजारका गल्ली गल्लीमा चल्दोरहेछ जात्रा । तर म बबुरो रित्तो खल्ती छाम्दै पर्खाल नागेर मेलामा छिर्थें । …यही रित्तो खल्तीले त हो मैले अमेरीका र आष्ट्रेलीयाका मेला भर्न नपाएको ।
ऊ पनि जात्राकी शौखिन रहिछे…। अर्कैको टिकटमै पुगिसकीछे – मेलवर्न ! मलाई पनि खबर आ’को थियो – “”सरी फर एभ्रिथिङ् । आई विल मिस यू !””
OO OO
घरबेटीको सस्तोवाला घाम नपर्ने र ढुसी गन्हाउने कोठामा सुत्दा उसका चिसा यादहरू छेकिएनन् । सर्टिफिकेट जलाएर आगो तापेँ । एकछिन भए पनि न्यानो भो । अबको जाडो छेक्न के जलाउने अन्यौलमा छु । …मन जलाएर न्यानो नहुने रहेछ, याद जलाउन नसकिँदो रहेछ ।
OO OO
आज गाउँबाट आमा आँउदै हुनुहुन्छ ।
“”मलाई पनि भेटाऊ न !””
“”के भनेर भेटाउने ?””
“”हुनेवाला बुहारी भन न !””
उसले आमालाई भेटी… । आमा अचम्म परेर गाउँ फर्किनुभाथ्यो ! म अचम्म परेर प्रेममा डुबिरहें ।
OO OO
विदेशी नम्बरबाट म्यासेज आयो – “”म तिमीलाई अलिकति पैसा पठाइदिन्छु ! आमालाई चुरा र पोते किनेर लगिदेऊ ल !””
“”के भनेर दिनु ?””
“”हुन नसकेकी बुहारीले पठाएकी भनेर देऊ ! …यू नो…आई स्टिल लभ यू एण्ड मिस योर म म !””
“”हो प्रभू… यहाँ जात्रा चलिरहेछ… !””
केको जात्रा छुट्याउन नसकी म त्यही जात्रामा नाँचिरहेछु । अरु यस्तै मुकुण्डो भिरेर नाँचिरहेछन्, म मुख देखाएरै नाँचिरहेछु । अरु बेचिएर नाँचिरहेछन्, म किन्न नसकेर नाँचिरहेछु… मेलबर्न र न्यूयोर्कको टिकट ।
खैर पीर छैन… उसले फेसबुक र म्यासेजमै त्यहाँका जात्रा देखाइरहन्छे !
OO OO
आफ्नै जात्रा चलिरहेछ… । म आजकल इन्द्रचोकका जात्रा हेर्न जान्न ! कस्तो हुदैँछ भनेर कसैले नसोध्नु… ।
“
