वीरगञ्जमा मेयर टिकटका लागि झडप

भदाै ९, वीरगञ्ज । मेयर टिकट पाउनको लागि वीरगञ्जमा राष्ट्रिय जनता पार्टीको दुई समूह बिच झडप भएको छ ।पार्टीले चुनावमा जाने घोषणा गरेकै दोस्रो दिन टिकटको लागि बिमल श्रीवास्तव र राजेशमानसिंह श्रेष्ठ समूहबीच वीरगञ्जको कुमुप्यालेस होटेलमा झडप भएको हो । पर्सा जिल्लाको टिकट वितरणको जिम्मेवारी पाएका केन्द्रीय पर्यवेक्षक विजय गुप्तालले आयोजना गरेको कार्यकर्ता भेट कार्यक्रम सुरु नहुँदै दुवै समूहले चर्को नाराबाजी गर्न थालेपछि झडप भएको थियो ।

‘झडपपछि छलफल बिथोलिएर पछिसम्म सडकमै नाराबाजी चलिरहेको थियो । पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका विजय गुप्ता अगाडि नै मेयर आका‌ंक्षी केन्द्रीय नेता श्रीवास्तव र राजेशमान समूह बिच झडपले पार्टीको अनुशासनलाई नै चुनौती दिएको थियो’, एक स्थानीय नेताले भने, ‘अहिले नै यस्तो अवस्था छ, चुनावमा त के एक अर्काले सहयोग गर्लान र अनि कसरी राजपाको चुनावमा जीत हुन्छ ।’

कार्यक्रमको सुरुमै केन्द्रीय महासचिव राजेशमान सिहं (श्रेष्ठ) को नेतृत्वमा आएको जुलुस कार्यक्रम स्थलमा पुगेपछि अर्का महासचिव समेत रहेका विमल श्रीवास्तव पक्षले नाराबाजी गर्न थालेपछि तनाव उत्पन्न भएको थियो । चर्को नाराबाजी भइरहँदा कार्यकर्ताबीच धकेलाधेकल र झडप समेत भएको एक सहभागीले बताए ।

पार्टी एकीकरणभन्दा पहिलादेखि नै वीरगञ्जको मेयर पदका उम्मेदवार बन्न आकांक्षी रहेका दुवै जनाले केही समयदेखि कार्यकर्ता तथा मतदाता रिझाउन छुटाछुट्टै कार्यक्रम गर्दै आएका थिए । पार्टीभित्र उत्पन्न ठुलो ध्रुविकरणले गर्दा राजपा पर्सामा अहिले नै दुईफाटोमा ल्याएको छ ।

पोखरिया नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीहरूको पहिचान गर्न यो पहिलो भेला राखिएको थियो । तर, दुई समूहबीच नाराबाजीले परिस्थिति असहज बनाएपछि छलफल रोकिएको केन्द्रीय नेता शिव पटेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *