जिहादीको आक्रमणमा ३४ सैनिकको मृत्यु

बेरुत, ९ भदौं । सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आबद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन् । राका प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्रहरू पुनःजिहादीहरुले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको छ ।

यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आबद्ध लडाकू मदान सहरको बाहिरी इलाकामा पुगेका थिए । राका प्रान्तको पूर्वीतर्फ पर्ने यो सहर आइएसको बलियो प्रभाव रहेको थियो । आइएस आतङ्ककारी समूहले मदान सहरको पश्चिममा पर्ने बाहिरी इलाकाको ३० किलोमिटर परसम्म सुरक्षा बललाई लखेटेका थिए । रसियाको समर्थनमा आइएस आतङ्ककारी विरुद्ध कारबाही चलाउँदै आएका सिरियाली सुरक्षाबलले प्रान्तीय राजधानी राका सहरमा भने छुट्टै लडाई जारी राखेका छन् ।

जिहादी समूहको बलियो प्रभाव रहेको सिरियाली, सहरहरुमध्य एक यस सहरबाट आइएस आतङ्ककारीलाई निकाल्नको लागि सिरियन डेमोक्रयाटीक फोसेस (एसडिएफ) र अमेरिका आवद्ध कुदिस र अरब लडाकूहरुको प्रयास जारी रहेको छ । गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादीविरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राका सहर ६० प्रतिशत कब्जामा लिइसकेका थिए ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो । सोही आन्दोलन कारक हुँदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ । त्यसै गरी, यस आन्दोलनमा लाखाै घाइते भएका छन् भने, लाखौले घरभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य रहेका छन् । रासस/एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *