५ भदौभित्र १८ वर्ष पुगेकाले मात्र १० मंसिरमा भोट हाल्न पाउने

गत ५ भदौभित्र १८ वर्ष पूरा भएका नागरिकले मात्र आगामी प्रतिनिधिसभा र प्रदेशससभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले यस्तो उमेर हद तोकेको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आगामी १० मंसिरमा मतदान हुँदैछ ।

सोही प्रयोजनका लागि आयोगले आह्वान गरेको फोटोसहितको मतदाता नामावली संकलनको क्रममा ५ भदौभित्र १८ वर्ष उमेर पुगी नाम दर्ता गराएकाहरूले मात्र मतदान गर्न पाउने भएका हुन् । सरकारले गत ५ भदौमा निर्वाचन मिति घोषणा गरेको थियो । आयोगले सोही दिनलाई उमेर पूरा भएको दिन मानेको हो । आजको नयाँ पत्रिकामा छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) मा आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था छ । बिहीबारको बैठकले गत ३ भदौसम्म नाम संकलन भएका व्यक्तिको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णयसमेत गरेको छ ।

निर्वाचन आयोगले रुकुम र नवलपरासीबाट टुक्रिएर थप भएका दुई जिल्लामा पनि जिल्ला समन्वय समितिको निर्वाचन गर्ने निर्णय गरेको छ । गत ५ भदौको मन्त्रिपरिषद् बैठकबाट प्रदेश नम्बर ४ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व), प्रदेश नं. ५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा प्रदेश नम्बर ५ मा पर्ने रुकुम (पूर्वी भाग) र प्रदेश नम्बर ६ मा रहने रुकुम (पश्चिम भाग) लाई अलगअलग जिल्ला बनाउने निर्णय गरेको थियो ।

स्थानीयको निर्वाचन सम्पन्न भइसकेका यी चारवटै जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन हुन बाँकी रहेको छ । आयोगले ती जिल्लामा जिसस निर्वाचनका लागि चारजना जिल्ला न्यायाधीशको नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *