बाढीपिडित शिविरमै घरेलु हिंसा

गरुडा,८ भदौ । गरुडा नगरपालिकाकी २५ वर्षीया एक महिला ससुराले कुटपिट गरी घरेलु हिंसा गरेको भन्दै केहिदिन पहिला प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा उजुरी दिन आइन । पीडितसंग घटनाको जानकारी लिदा थाहा भयो उनलाई उनकै ससुराले यौन सम्पर्क गर्न खोज्दा नमानेपछि कुटपिटको सिकार भएकी रहिछन ।

यस्तै साबिक प्रतापपुर पल्टुवा गाविस की २० वर्षीया एक महिला पनि ससुराले कुटपिट गरेको भन्दै उजुरी दिन आइन, उनको अवस्था बुझदा समेत उस्तै रहेछ । यी त प्रतिनिधि पात्रहरु मात्र हुन ।

गत साउन महिनाको अन्तिममा समय देखि आएको अविरल वर्षाका कारण पीडित भएकाहरु एउटै स्थानमा आश्रय लिइरहेको अवस्थामा महिलाहरू विभिन्न किसिमका यौन हिंसाका सिकार भएका छन् । बाढीले घरवार सबै वगाएका कारण परिवारका सदस्यहरू विद्यालय, मन्दिर, मस्जिद जस्ता शिविरहरुमा आश्रम लिएर बसेका र उनीहरूको लागि सुरक्षित आवासको व्यवस्था नभएका कारण हिंसाका सिकार बन्दै आएका छन् । घरवार सबै डुवाएपछि खुल्ला स्थानमा दिशा पिसाव गर्न जानु पर्ने र दिउँसै खुल्ला स्थानमा दिशा पिसाव गर्न गएको भन्दै परिवारका सदस्यहरूबाट कुटपिट र गाली वेइजति सहनु परेको पीडित महिलाहरूको गुनासो रहेको छ ।

रौतहट जिल्ला बाढीबाट ८० प्रतिशत भन्दा बढी प्रभावित भएको र करिब ४ लाख जनसङ्ख्या यसबाट प्रत्यक्ष प्रभावित भएको अवस्थामा बाढी पीडितहरु बसेको शिविरहरुमा कति हिंसा भएका छन् भन्ने एकिन तथ्याङ्क बाहिर आउन सकेको छैन । जिल्लाको सडक सन्जालहरु सबै भत्किएका र प्रहरी ईकाई सम्म पीडितहरु आउन सक्ने अवस्था नभएकाले पनि यस्ता खाले हिंसाका घटनाहरूको सङ्ख्या अझ बढी हुन सक्ने  महिला तथा बालबालिका सेवा केन्द्र रौतहट जिल्ला सन्जालका अध्यक्ष पुनम ठाकुरले बताईन ।

प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा बाढी पश्चात् मात्र १० ओटा विभिन्न किसिमका घरेलु हिंसाका उजुरी दर्ता भएको सेवा केन्द्रले जनाएको छ ।  दर्ता भएका उजुरीहरु सबै बाढी प्रभावित गाविसका रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *