ओमानमा सुतिरहेको अवस्थामा नेपाली मृत फेला

भाद्र ७, नेपालगन्ज । वैदेशिक रोजगारीका लागि ओमान पुगेका एक युवा शनिवार रहस्यमय ढङ्गले मृत फेला परेका छन् । बाके राप्तीसोनारी गाउँपालिकाका मोहन मल्ल ओमानमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् । मोहन गत माघ २८ गते कर्णाली ओभरसिज मार्फत ओमान इन्टरनेशनल ग्रुपमा काम गर्न ओमान पुगेका थिए ।

२९ वर्षीय युवा मल्लको हत्या भएको परिवारले आशंका गरेको छ । नेपालगन्ज बसपार्क रोडमा सुर्खेती चन्द होटेल सञ्चालन गर्दै आएका मोहनका दाजु राजेन्द्रले परिवारले प्राप्त गरेको फोटोमा मोहनको शरीरमा चोटका दागहरु देखिएका भन्दै हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘टाउको, घाटीमा चोट लागेको र रगत देखिएको फोटो पाइयो’, राजेन्द्रले भने, ‘कुनै पनि गम्भीर स्वास्थ्य समस्या थिएन मोहनलाई ।’

मृतक मोहन गर्भवति श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीमा गएका थिए । उनको २ महिनाको छोरा छ । मोहनको निधनको खबर प्राप्त भएपछि श्रीमती छाया“ अचेत अवस्थामा छिन् । विदेशमा भाइको मृत्यु भएपछि दाजु राजेन्द्र हतास देखिए । ‘शव ल्याउने प्रक्रियामा लागेको छु’, उनले भने, ‘उनको मृत्युको बारेमा सत्यतथ्य बाहिर आओस् ।’

ओमानमा मोहन कार्यरत कम्पनीमा अन्य १५ बढी नेपालीहरू समेत कार्यरत रहेका छन् । उनी गएको कर्णाली ओभरसिजका प्रतिनिधि दिलीप चन्दले त्यहाँ कार्यरत नेपालीहरुसँग घटना बारे बुझेको परिवारलाई जानकारी गराएका छन् । त्यसक्रममा चन्दले त्यहाँ कार्यरत नेपालीले मल्ल मिलनसार रहेको र उनको निधनबाट आफूहरू समेत स्तब्ध रहेको बताएको परिवारलाई जानकारी दिएका थिए ।

मोहन सगै अन्य देशका ३ नागरिक पनि सँगै बस्ने गरेको चन्दले त्यहाँ कार्यरत नेपालीलाई उद्धृत गर्दै जानकारी दिए । ओमान प्रहरीले मोहनको शव पोष्टमार्टका लागि अस्पताल लगेको जानकारी पाएको बताउँदै चन्दले पोस्टमार्टम पछि मोहनको निधनको वास्तविकता खुल्ने परिवारलाई आश्वासन दिएका थिए । मृतक मोहनको परिवारमा श्रीमती, एक छोरा र दाजु, भाउजू रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *