हावाबाट १० किलोवाट बिजुली, लोडसेडिङ हुँदा पनि झिलिमिली

मनोज अर्याल, नवलपरासी । नवलपरासीको हुप्सेकोटमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरिएको छ । हुरहुरे डाँडामा जडान गरिएका दुईवटा पङ्खाबाट निकालिएको उक्त बिजुली स्थानीय ५८ घरपरिवारले प्रयोग गरेका छन् । हरेक घरलाई २५० वाटका दरले प्रयोग गर्न दिइएको छ । अन्य स्थानमा लोडसेडिङ हुँदा पनि हुप्सेकोट ६ मा भने बत्ती जाँदैन । टुकीको भरमा रहेको दुर्गम बस्ती हावाबाट बिजुली निकालेपछि झिलिमिली बनेको हो ।

केही वर्ष पहिलेसम्म दिनभर हावा चल्दा दिक्दार मान्ने हुरहुरेका स्थानीयलाई हाल त्यही वरदान साबित भएको छ । नवनिर्वाचित अध्यक्ष लक्ष्मी पाण्डेले गाउँपलिकाको नीति तथा कार्यक्रममा ‘उज्यालो हुप्सेकोट’ कार्यक्रममार्फत थप बिजुली निकालेर स्थानीयलाई वितरण गर्ने जनाइन् ।

यहाँका ५८ घरपरिवारले बिजुली प्रयोग गर्दै आएकामा अन्यलाई समेत सुविधा दिने उनले बताइन् । हुरहुरे डाँडामा जडिएका पङ्खाबाट १० किलोवाट बिजुली निस्केसँगै सौर्य ऊर्जाबाट उत्पादन भएको दुई किलोवाट बिजुली पनि जोडिएको छ ।

त्यसलाई हरेक घरमा बाँडिएको छ । अहिले चारवटा बत्ती बाल्दा एउटा घरमा २० वाट बिजुली मात्रै खपत भएको छ । यसका लागि वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एसियाली विकास बैङ्क (एडीबी) ले ऊर्जा केन्द्र स्थापना गरीदिएको हो ।

हावाबाट बिजुली निस्कने कुरालाई सुरुमा स्थानीयले विश्वास गरेका थिएनन् । ‘हावाबाट बिजुली निकाल्ने सुन्दा सुरुमा हाँसो बन्यो,’ स्थानीय गमबहादुर रानाले भने, ‘यही हावाले लोडसेडिङ नै नहुने राष्ट्रिय प्रसारण लाइनको भन्दा पनि भरपर्दो बिजुली दिएको छ ।’

गाउँलेले न्यूनतम शुल्क तिरेर मर्मत सम्भार र दिगो सञ्चालनका लागि कोषसमेत खडा गरेका छन् । हावा नचलेका बेला घामबाट र घाम नलागेका बेलामा हावाबाट बिजुली निस्कने हुँदा सहज भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *