पहिरोको डरले रातभर जाग्राम

रुकुम, ५ भदौ । अविरल वर्षाका कारण जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुला गाउँ पहिरोको जोखिममा परेको छ ।गाउँमाथि र तलबाट दैनिक जसो पहिरो खस्न थालेपछि जोखिम बढ्दै गएकाले स्थानीयवासी पानी पर्न थालेपछि रातभर जाग्राम बस्ने गरेका छन् ।

पहिरोको मारमा साविकको झुला गाविसका ४ र ६ वडाका करिब ६० घरधुरीलाई समस्या भएको स्थानीयवासी प्रेम केसीले जानकारी दिनुभयो । पहिरोका कारण गाउँमा रहेको विद्यालयको धारा र खेलमैदान पुरिएको छ भने विद्यालय भवन पनि पहिरोको उच्च जोखिममा छ ।


गाउँमाथि र तल्लो भागबाट सडक खनेकाले अहिले पहिरो खस्न थालेको उहाँको भनाइ छ । पहिरो बढ्दै गएपछि गाउँ नै पुरिने डरले स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन् ।

“दिनदिनै पहिरो थपिएको थपियै छ,” प्रेम केसीले भन्नुभयो, “वैकल्पिक व्यवस्था नहु‘दा गाउँबाट अन्त जान पनि सकिएको छैन । पहिरो बढ्दै गएकाले दिनभर पनि त्रासमै घरमा बस्नुपर्ने अवस्था छ ।” पहिरो रोकथाम र वैकल्पिक व्यवस्थाका लागि सदरमुकामका विभिन्न निकायमा सहयोग माग गरे पनि बेवास्ता गरिएको स्थानीयवासीले जनाएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *