दुई बसपार्कमा ‘फ्रि वाईफाई’

किशोर खनाल, भरतपुर । भरतपुर महानगरपालिकाको आइतबार पहिलो बैठक सम्पन्न भएको छ । महानगरपालिकाका मेयर रेणु दाहालको अध्यक्षतामा बसेको पहिलो बैठकले भरतपुर महानगरपालिकाभित्रका दुई वटा बसपार्कमा फ्रि वाईफाईको सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

‘महानगरपालिकाको पहिलो बैठकले भरतपुरको केन्द्रीय बस टर्मिनल र नारायणगढको पोखरा बसपार्कमा २ एमवीपीएस क्षमताको फ्रि वाईफाई सुविधा प्रदान गर्ने निर्णय गरेको छ’ पत्रकार सम्मेलनमा महानगरपालिकाका मेयर दाहालले भनिन् । उनले आगामी दिनमा सम्भाव्यता अध्ययन गरी अन्य क्षेत्रहरुमा पनि फ्रि वाईफाई व्यवस्था गर्दै लैजाने बताइन् । भरतपुर महानगरपालिकाले यी दुई ठूला बसपार्कमा यही भदौ महिनाभित्र फ्रि वाईफाई व्यवस्था गरिसक्ने लक्ष्य लिएको छ । ‘यसको लागि प्रक्रिया अघि बढाइएको छ, भदौभित्रै फ्रि वाईफाई चलाउन पाइन्छ’ मेयर रेणु दाहालले भनिन् । उनले महानगरवासीको चाहना धेरै भएकाले अरु थप कार्यक्रमहरु विस्तारै ल्याउँदै जाने बताइन् ।

‘जनताको जनचाहना धेरै छन्, समय पनि हामीसँग ५ वर्ष छ । रिङ रोडको कुरा छन्, सिटी हलको आवश्यक छ । पक्की र फराकिला सडकहरु बनाउन बाँकी छ’ मेयर दाहालले भनिन्, ‘यसको लागि केन्द्रबाटै बजेट पारेर अघि बढ्ने सोच बनाइरहेको छु, यसको लागि केही समय लाग्छ ।’

मेयर दाहालले महानगरपालिकामा अझै जनप्रतिनिधि पूरा नभइसकेकोले थप कार्यक्रम ल्याउन नसकेको पनि बताइन् । ‘दुई वडाको विषय अदालतबाट टुङ्गो लागिसकेको छैन, यसको टुङ्गो लागेपछि मनोनित गर्ने काम पनि टुङ्गिन्छ । त्यसपछि फेरि थप कार्यक्रमहरु ल्याइन्छ’ उनले भनिन् ।

महानगरको पहिलो बैठकले बाढीपहिरोले गरेको क्षतिप्रति दुःख प्रकट गर्दै भौतिक क्षतिको तत्काल मर्मत सम्भार गर्ने निर्णय पनि गरेको छ । यसबाहेक महानगरपालिकाको बैठक सञ्चालन कार्याविधि २०७४ स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

यसअघि मेयरको पदभार ग्रहण गरेको दिन मेयर दाहालले भरतपुर अस्पतालमा महिलालाई र ६० वर्ष कटेका पुरुषलाई ओपीडी टिकट निःशुल्क गरेकी थिइन् । महानगरपालिकाको पहिलो बैठकले टिकट निःशुल्क गरेबापत् लाग्ने शुल्क भरतपुर अस्पतालबाट प्रत्येक महिना प्राप्त हुने बिल बमोजिमको रकम महानगरपालिकाको आन्तरिक आयबाट खर्च गर्ने निर्णय पनि गरेको छ ।

‘पहिलो बैठक मुलतः परिचयात्मक नै रह्यो । पहिलो बैठकले कुनै ठूला योजना अघि सारेको छैन । जनप्रतिनिधि पूरा पनि छैनन् । ठूलठूला निर्णय गर्न ‘मास्टर प्लान’ चाहिन्छ’ महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भने । उनले सबैको सहमतिमा एउटा योजना बनाएर अघि बढ्न पर्ने भएकोले यो बैठकमा ठूला योजनाका कुनै कार्यक्रम अघि नबढाइएको बताए ।

बैठकले बाढीबाट १३, २२, २७, २८ वडा धेरै प्रभावित भएको हुँदा त्यहाँलगायत नेपालमा विभिन्न ठाउँमा भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै राहत वितरणमा सहयोग गर्न सबैमा अपिल गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *