एक सय वर्षमा त्रिचन्द्र कलेज

काठमाडौं, भदौ ५ । नेपालमा उच्च शिक्षाको थालनी भएको एक सय वर्ष पुगेको छ । वि.सं. १९७५ (सन् १९१६) मा त्रिचन्द्र कलेज स्थापना भएसँगै नेपालमा उच्च शिक्षाको थालनी भएको थियो, गोरखापत्रमा खबर छ । १९७५ भदौ ५ गतेबाट विधिवत् उच्च शिक्षाको सुरुवात भएको मानिदै आएको छ । यसैलाई आधार मानेर शिक्षामा जागरण ल्याउने मुलुककै अग्रणी त्रिचन्द्र बहुमुखी क्याम्पसले सोमबार शतवार्षिकी समारोह मनाउँदैछ । सो कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । शिक्षाका इतिहाससम्बन्धी पुस्तकहरूमा स्थापना मिति भदौ २७ गते लेखिएको पाइएको छ ।

त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीपबहादुर न्यौपानेका अनुसार क्याम्पसले स्थापनाकालदेखि नेपालको उच्च शिक्षामा महìवपूर्ण योगदान गर्दै आएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा उच्च शिक्षा सुरुवात गर्ने संस्थाको रूपमा सो कलेज स्थापना भएको थियो । तत्कालिन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरले संयुक्तरूपमा शिलान्यास गरेकै कारण क्याम्पसको नाम ‘त्रिभुवन चन्द्र कलेज’ राखिएको थियो । पछि १९८१ सालबाट यसको नाम ‘त्रिचन्द्र कलेज’ राखिएको थियो । त्रिचन्द्र कलेज उद्घाटनका दिनमा ‘सुविद्याको बज्यो घण्टा, विलायो मोहको टण्टा, अविद्याको टुट्यो डण्डा, गिरायो मोहको झण्डा’ भन्ने कविता वाचन गरिएको बताइए पनि सो कविता कसले लेखेका थिए भन्ने थाहा हुन सकेको छैन ।

राणाकालमा उच्च शिक्षाको संस्थागत थालनी भए पनि यो सर्व साधारणका लागि थिएन । राणा, शाह तथा अन्य सम्भ्रान्त परिवारका लागि मात्र यो कलेज खुला थियो । २००७ सालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएपछि मात्र यसमा सर्वसाधारणले पनि पहुँच पाएका थिए । पूर्व क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद थपलियाले शिक्षा क्षेत्रमा कसैलाई त्रिचन्द्र कलेजको नाम चिनाइ राख्न नपर्ने बताउँदै त्यसको शिक्षा क्षेत्रको योगदान अविस्मरणीय रहेको तर्क गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *