अख्तियारलाई मिलाएँ भन्दै वीपीका उपकूलपतिको ‘चियर्स पार्टी’

भाद्र ४, काठमाडौँ । एमआरआई काण्डमा मुछिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपतिले आफूलाई बचाउन काँग्रेसका नेता तथा मन्त्रीहरुलाई हार गुहार गरेका छन् । बिहीबार हतास् मानसिकतामा राजधानी आएका डा. राजकुमार रौनियारले शुक्रवार आफ्ना दाजु गौरीशंकर रौनियार मार्फत काँग्रेस नेता कृष्ण प्रसाद सिटौला, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायतलाई गोप्य भेट गरी आफूलाई बचाउन आग्रह गरेका छन् ।

उनी लाजिम्पाट स्थित होटेल मनासलुमा बसेर शुक्रबारै सिटौला, थापा र कार्कीसँग भेट गरेको होटेल मनासलु स्रोतले बतायो । भेटमा डा. रौनियारले गगन थापा र कृष्ण सिटौलालाई अख्तियारको सम्भावित कारबाहीबाट बचाउन आग्रह गरेका थिए । ‘मेरो नियुक्ति तपाईहरुबाटै भ‘को हो, यो केस मिलेन भने म त रहन्न रहन्न तपाईँहरूको राजनीति पनि सकिन्छ, कसरी हुन्छ अख्तियारलाई मिलाई दिनुस् ।’ स्रोत भन्दछ ।

डा. रौनियारको रुवाई र दबाब पछि आफुहरुको राजनीतिक करियर नै धरापमा पर्ने देखे पछि उनीहरूले डा. रौनियारलाई केही गर्ने आश्वासन दिएका थिए । बिहीबार राति ११ बजे सम्म अख्तियारले तानेको यम आर आइ मेसिनका सप्लायर्स विशाल पण्डित र गगन थापाको पहलमा शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुख्य मान्छेहरुसँग रौनियारको सेटिङ भएको हो ।

उपकूलपतिको दारु पार्टी

दिउसोको वार्ता सकारात्मक भएपछि डा. रौनियारले सोही रात त्यही होटेलमा सीमित व्यक्तिहरूलाई बोलाएर ‘सक्सेसफुल’ पार्टी दिए । पार्टीमा अख्तियारका केही पदाधिकारी र मेडिकल माफीयाहरुको समेत सहभागिता रहेको स्रोतको दाबी छ ।

शुक्रवारको सन्तोषजनक भेटघाट पश्च्यात खुसीले मग्न भएका डा. रौनियारले ‘चियर्स’ गर्दै एक व्यापारीलाई भने–‘तपाईहरु अख्तियार सख्तियार केहीको चिन्ता नलिनुस्, केस मिलिसक्यो ।’ उनको कुरा सुनेर एक व्यापारीले उनलाई ‘डा साब धेरै नहौसियौं, बरु बिस्तारै गरौंला’ व्यापारीको यस्तो सल्लाह सुनेपछि दारुले रमरम हुँदै रौनियारले भने–‘तपाईहरु काममा लाग्नुस् कुनै चिन्ता नलिनुस् । दाजु यैं हुनुहुन्छ, मसँग पनि पावर छ, भोलि नै आर्थिक व्यवस्थापन गर्नु पर्ने भो, तपाईहरु लाग्नुस् ।’ उनले भने ।

अख्तियार किन सुस्तायो ?

पूर्व मन्त्री थापा, काँग्रेस नेता सिटौला, विशाल पण्डित र केज कन्सल्टेन्सीका मालिक विष्णु पन्थीको अथक प्रयत्न पश्च्यात अख्तियारका आयुक्तहरु सावित्री गुरुङ, नबिनकुमार घिमिरे र राजनारायण पाठकसँग भेट गर्न पाएका र अन्ततोगत्वा अख्तियार प्रमुख दीप बस्न्यातकै शरणमा पुगेका डा. रौनियार प्रति अख्तियार अचानक नरम भएको छ ।

डा. रौनियारका दाजुले आफ्ना निकटका व्यक्तिलाई भनेको आधारमा हो भने ‘एमआरआइ’ खरिदमा बजार मूल्य भन्दा ६ करोड बढी लागत राखी बिक्री गरिएको छ । उक्त एमआरआइको नाफा अब व्यापारी र रौनियारले मात्र खान नपाउने अवस्था सिर्जना भएको छ । उक्त छ करोड चार तिर बाँड्नु पर्दा डा. रौनियारलाई ‘पहिलो गाँसमै ढुङ्गा’ भएको छ । रौनियारको तिकडमलाई साथ दिएका दाजु गौरीशंकरले शनिवार राजधानीमै एक व्यापारीलाई भनेजस्तो हो भने भाइको पद जोगाउन प्रतिष्ठानको ६ करोड रुपैंया खुवाईएको छ ।

के भन्छन् धरानका स्थानीय राजनीतिक दल ?

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र हुने चलखेलका बारेमा धरानबासी अनविज्ञ हैनन् । प्रतिष्ठानमा विगतमा कुनै पनि आन्तरिक समस्या हुँदा र विवाद हुँदा राजनीतिक दल र नागरिक समाज जुलुस लिएर जाने गर्दथ्यो । तर, अहिले प्रतिष्ठानबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल अनुसन्धानमा लिँदा र प्रतिष्ठान अस्तब्यस्त बन्दा कुनै पनि राजनीतिक दल बोल्न सकेका छैनन् । यसको मुख्य कारण के हुन सक्छ ? यो विषयमा धरानका राजनीतिक दलका नेता तथा नागरिक समाज यसो भन्छन् ।

वीपीलाई कसैको प्रयोगशाला बनाउनु भएन

किशोर राई नेपाली काँग्रेस धरान

प्रतिष्ठानमा पछिल्लो समय धेरै विवादहरु आएका हामीले पनि महसुस गरेका छौँ । खास गरी बिरामीलाई दिनुपर्ने सेवा सुविधा र प्रशासनिक विषय व्यवस्थित भएका छैनन् ।

प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आउने पदाधिकारी हुन् वा कर्मचारी तिनीहरूले गर्ने कामहरूको विषयमा हामीले निगरानी गर्नुपर्ने बेला आएको छ । यो धरानबासीको भए पनि हामीले हाम्रो भनेर कहिल्लै महसुस गर्न नसकेको अवस्था छ । वीपीको आर्थिक कुरा कहिल्लै पारदर्शी छैन । कर्मचारीमा पनि विभेद छ कसैले टन्न कमाएका छन् कसैले तलवपनि पाएका छैनन् । उपचार सेवा दिनप्रतिदिन खस्किएको छ ।

एमआरआई खरिद गर्ने विषयमा नियमित प्रक्रियाबाट भएको हो होइन हामीले बोल्ने कुरा हैन । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिसकेको हुँदा आयोगले जतिसक्दो चाँडो छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । समस्याको समाधान खोज्ने हो भने, वीपीलाई कसैलेपनि व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि प्रयोगशाला बनाउनु चाहिँ भएन । भ्रष्टाचारको अखडा बनाउनु भएन ।

प्रतिष्ठानलाई तन्दुरुस्त बनाउन जरुरी

मुरारी सुवेदी, नेकपा एमाले

प्रतिष्ठानका विषयमा आएका टिका टिप्पणी र विवादका विषयमा अब हामी अगाडी बढ्नुपर्छ जस्तो छ ।

एमआरआई मेसिन किन्ने विषयमा हिजो अर्कै थियो अहिले अर्कैले खरिद गर्दैछ । यो विषयमा अख्तियारले अनुसन्धान गरिरहेकोले त्यहाँबाट आउने निष्कर्षले टुङ्गो लाग्ला । तर, शङ्का उपशंका भने उब्जिएका छन् । पदाधिकारीले जवाफ दिनुपर्छ ।

हामीले आफ्नो तर्फबाट राज्य र संम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने काम त गरिरहेकै छौँ । अब हामी सबैले प्रतिष्ठानलाई तन्दुरुस्त बनाउन जरुरी छ ।

प्रतिष्ठानको विषयमा सूक्ष्म अध्ययन गरिरहेका छौँ

किरण राई माओवादी पार्टी (विप्लव) 

वीपीको विषयमा हामीले आवाज मात्र उठाएका छैनौँ, सूक्ष्म रूपमा अध्ययन अनुसन्धान पनि गरेका छौँ । यो धरानबासीको मात्र नभएर पूर्वाञ्चलकै जनताको भएकोले यसलाई मर्न दिनुहुन्न ।
भ्रष्टाचार हर्ने कुनै पनि निकाय सक्रिय भएर लागेको पाएका छैनौँ । वीपीमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण भनेको राजनीति नै हो । यहाँ राजनीति हाबी भएको छ । कुनै पनि कार्यकारी प्रमुख नियुक्ति गर्दा प्रक्रिया हुनुपर्छ ।

वीपीमा कहिल्लै प्रक्रिया हेरिएको छैन । पहुँच र पैसाको आधारमा नियुक्ति, बढुवा हुन्छ । यो रोकिनु पर्दछ । वीपी मात्र हैन समग्र राजनीति नै परिवर्तन गर्न लागि परेकोले यस्ता विषयमा हामीले आफ्नो तर्फबाट अध्ययन अनुसन्धान गरिरहेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *