प्रशासनको ज्यादति विरुद्ध डाक्टर, नर्ससहित कर्मचारी आन्दोलनमा

भाद्र ४, काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्रमा प्रशासनको ज्यादति विरुद्ध त्यहाँ कार्यरत डाक्टर, नर्स र कर्मचारी आन्दोलित भएका छन् । अस्पतालको स्थापना कालदेखि सेवा गर्दै आएका नर्सहरु त्रजिना जति, सजना देउला, कृति श्रेष्ठका साथै केही कर्मचारीलाई निष्कासन गरिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

अस्पतालका निर्देशक पुकारचन्द्र श्रेष्ठ र नर्सिङ निर्देशक इन्दिरा प्रधानले अस्पतालमा कर्मचारी नियुक्तिदेखि बर्खास्तीसम्म मनलाग्दी गरिरहेको उनीहरुले आरोप लगाएका छन् । अस्पतालमा भइरहेको अनियमितता विरुद्ध बोलेको भन्दै पछिल्लो समय नर्स त्रजिना जति निष्कासनमा परेकी थिइन् ।

अस्पताल प्रशासनले नर्स त्रजिनालाई गलत भन्ने आशयको लिखतमा कर्मचारीहरुलाई जबर्जस्ती हस्ताक्षर गराउन खोजेपछि डाक्टर, नर्स र कर्मचारीहरुले त्रजिनाको पक्षमा हस्ताक्षर गरेका छन् । अस्पतालमा ९१ डाक्टर, नर्स र कर्मचारीले अस्पतालका निर्देशक र प्रशासन विरुद्ध स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका छन् । आन्दोलनमा उत्रेकामध्ये केहीले आइतबार बिहानदेखि अस्पतालमा धर्ना दिएका छन् भने केहीले मन्त्रालय पुगेर न्यायका लागि गुहारेका हुन् ।

उनीहरुलाई अस्पतालमा डायलाइसिसका लागि आइरहने र उपचार गराइरहेका झन्डै १ सय ५० जना बिरामीले साथ दिएका छन् । बिरामीहरुले आफूहरुको उपचारमा अस्पताल प्रशासनले मनोमानी गरेको भन्दै आन्दोलनमा साथ दिएका हुन् ।

आन्दोलनमा उत्रेका डाक्टर र नर्सहरुले अस्पतालका निर्देशक डा श्रेष्ठ र नर्सिङ निर्देशक प्रधानको मिलेमतोमा कर्मचारीमाथि ज्यादति हुनुका साथै अनियमितता समेत भएको आरोप लगाएका छन् । आन्दोलनमा अस्पतालका धेरै विशेषज्ञ चिकित्सकको पनि समर्थन रहेको एक डाक्टरले बताए । ‘बिरामीको उपचारमा अवरोध नहोस् भनेर केही साथीहरु उपचारमा सक्रिय हुनुहुन्छ । तर, हाम्रा माग स्वास्थ्य मन्त्रालयले सम्बोधन नगरे जुनसुकै हदसम्म जान तयार छौं,’ उनले भने ।

कर्मचारी भर्नामा मनपरी भइरहेको, भोलिन्टियर, सेसन वेसिस भन्दै श्रम शोषण गरेको, एउटै काममा कार्यरत कर्मचारीको पारिश्रमिकमा ठूलो विभेद गरेको, टेन्डरमा मनलाग्दी भइरहेको र लामो समयदेखि सेवामा रहेका कर्मचारीलाई उचित सुविधा नदिएको लगायतका विषय उनीहरुले उठाएका छन् ।

अस्पतालमा भइरहेका यस्ता गलत कार्य विरुद्ध औंला उठाएकै कारण नर्स त्रजिना जतिलाई निकालिएकाले आफूहरु आन्दोलनमा उत्रिनु परेकोे ती डाक्टरले बताए । डा श्रेष्ठको माथिल्ला निकायसम्म पहुँच भएकाले नियामक निकायले माग तत्काल सम्बोधन गर्नेमा केहीले शंका व्यक्त गरेका छन् ।

स्रोतका अनुसार, नर्स त्रजिनाले आफू निकालिएको कारण माग्दै स्वास्थ्य मन्त्रीलाई खुलापत्र लेखेकै दिन निर्देशक श्रेष्ठले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई भेटिसकेका छन् । निर्देशक श्रेष्ठले मन्त्रीमाथि प्रभाव जमाउन खोजे पनि स्वास्थ्य क्षेत्र सुधारमा लागि परेका मन्त्री पोखरेलले निष्पक्ष छानबिन गरेर न्याय दिलाउने आशा नर्स त्रजिनाको रहेको छ । उनी भन्छिन्, ‘हामीले आज मन्त्रालयमा औपचारिक रुपमा उजुरी दर्ता गराएका छौं । स्वास्थ्य मन्त्री न्याय प्रेमी भएकाले सत्य–तथ्य छानबिन गरी न्याय दिलाउने आशा छ ।’

आन्दोलनमा नेपाल नर्सिङ संघले समेत समर्थन गरेको नर्सहरुले बताएका छन् । आन्दोलनरत कर्मचारीहरुले आफू आवद्ध विभिन्न संघ–संस्थालाई समेत आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *