सोमालिया भन्दा कम भएको छैन सप्तरीको तिलाठी (फोटो फिचर)

भाद्र ३ सप्तरी । अविरल वर्षापछि आएको बाढी पहिरोले आक्रान्त तराई मधेसका जनतालाई राहत प्रदान गर्न शुलभ मिडिया प्रा.लिई.को संयोजनमा गठित राहत सङ्कलन तथा वितरण टिम यति बेला सप्तरीको तिलाठी गाउँपालिकाको मुसहर बस्तीमा पुगेको छ ।

समितिले हिजोसम्म करिब आठ लाख बराबरको राहत सङ्कलन गरेर उक्त क्षेत्रको सबैभन्दा ज्यादा प्रभावित क्षेत्रमा राहत वितरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज बिहान ९ बजे राहत टोली तिलाठी गाउँपालिकामा पुगेको मकालु खबर डटकमका अध्यक्ष फिलिप डिसीले जानकारी दिए । ‘यहाँ अहिले तत्काल लत्ता कपडा, खाद्यान्न र औषधोपचारको आपश्यकता देखिएको छ । हामीसँग भएको औषधी, खाद्यान्न र त्रिपालहरु २ बजेपछि बाड्ने कार्यक्रम छ ।’ उनले भने ।

तिलाठी गाउँपालिकाका खाँडो, जीता मौली लगायतका नदीहरूमा आएको बाढीले सो क्षेत्रका करिब पाँच सय ५० घरपरिवार पूर्ण प्रभावित भएका छन् । यहाँ हिजो अस्ति सरकारले केही खाद्यान्न र पाल वितरण गरे पनि सबै परिवारले पाउन सकेका छैनन् ।


अहिले यहाँका जनता सडकका छेउमा पाल टाँगेर र खुल्ला आकाशमुनी बसेका छन् । बाढीले खेतमा लगाएको अन्नपात सँगै घरनै पुरै डुवाएपनि उनीहरूको साथमा आङमा लगाएको लुगा बाहेक केही पनि छैन । अधिकांश बालबालिकाहरु भोकै रहेका छन् । केही निजी संस्थाहरूले चिउरा, दालमोट, पानी वितरण गरे पनि सम्पूर्ण प्रभावित क्षेत्रमा पुग्न नसकेको स्थानीयले बताएका छन् ।


अहिले सो स्थानका बाढी पीडितलाई खाद्याान्न र लत्ता कपडाहरुको आवश्यक्ता देखिएको राहत वितरण टोलीका संयोजक टुरुप संग्रौलाले बताए । टोलीले आज पहिलो चरण अन्र्तगत तीलाठी गाउँपालिकाका करिब १ सय ५० घर परिवारलाई राहत वितरण गर्नेछ । यो गाउँमा विशेष गरी मुसहर, चमार, पासवान र खङ समुदायको बाहुल्यता रहेको छ । एक स्थानीयले दलित समुदायको बस्ती भएको तथा असहज बाटोका कारण राहत कम आएको जिकिर गरे । उनले सरकारले पनि उद्धार र राहत वितरणमा भेदभाव गरेको बताए ।

तिलाठीमा गत शनिबारको बाढीका कारण ४ सयभन्दा बढी घरमा पानी पसेको छ। बाढी आएको साता बित्दा पनि तिलाठी पूर्व टोलका घरहरू चारैतिरबाट पानीले घेरिएका छन्। बाढीको बितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा महल्हनियालगायत गाउँलाई सधैं त्रसित बनाएको छ।  खासगरी पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणका खाडो नदीसित टाँसिएका गाउँहरु हरक वर्ष बाढीको चपेटामा पर्छन् । सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी नै हो।
स्मरण रहोस् यो क्षेत्र केही दिन अघि एक आठ वर्षीय बालकको मृत्यु हुँदा शव गाड्ने स्थान नभएपछि खोलामा बगाइएको क्षेत्र हो ।
तस्विरहरुः टुरुप संग्रौला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *