गृहमन्त्री ज्यू ७० रुपैंयामा दुई छाक खान पुग्छ र !

भाद्र २, काठमाडौँ । सरकारले बाढी प्रभावितका लागि तत्काल प्रतिव्यक्ति ७० रुपैयाँका दरले एक महिनाको रकम एकमुष्ट उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी बाढी प्रभावित क्षेत्रमा प्रतिव्यक्ति प्रतिदिन ७० रुपैयाका दरले एक महिनाको खाद्यान्न खर्च एकमुष्ठ नगद रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।

‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने समस्या पनि हुँदैन । प्रतिब्यक्ति ७० रुपैयाँको दरले नगद दिँदा सामान्य दाल भातको समस्या हल हुने आंकलन गरेका छौँ ।’ गृहमन्त्री शर्माले भने ।

मन्त्रालयले खाद्यान्न सहज उपलब्ध नहुने स्थानहरूमा नेपाल खाद्य संस्थानको खाद्यान्न विक्री केन्द्र स्थापना गरी सहज विक्री वितरणको व्यवस्था मिलाईने पनि जनाएको छ । यसका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ निकासा भएको छ । तत्काल एक महिनाका लागि राहत उपलब्ध गराईए पनि सबैं जिल्लाबाट क्षति मूल्याङ्कन विवरण आएपछि मात्रै तात्कालिन ,मध्यकालिन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने तयारी मन्त्रालयले गरिरहेको गृहमन्त्री जनाद्र्धन शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी केन्द्रीय दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितलाई ५ करोड १२ लाख रुपैयाँ राहत रकम निकासा गरेको छ । केन्द्रीय दैवीप्रकोप उद्धार कोषले जिल्लास्थित दैवी प्रकोप उद्धार कोषको खातामा ५ करोड १२ लाख रुपैयाँ राहत रकम निकासा गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्रालयले अहिले सम्म सरोकारित निकायहरुसँग समन्वय गरी १ लाख १७ हजार ८ सय २७ किलो खाद्यान्न सामाग्री, २ हजार २ सय ७२ मण्डी, २ हजार ६सय ८५ कार्टुनऔषधी तथा एक्काइस जिल्लामा ५३ हजार ४सय ५५ वटा त्रिपाहरु वितरण गरिएको जनाएको छ । २३ हजार ९ सय ४१ त्रिपाल अझै मौज्दात रहेको भन्दै मन्त्रालयले आवश्यक परेको स्थानमा माग भई आए उपलब्ध गराउन तयारी अवस्थामा राखिएको छ । डुबानमा परेका बस्तीमा फेरी पनि डुबानको समस्या खेप्न नपरोस् भन्ने उद्देश्य साथ नमुना शहरी विकासका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक समन्वय गर्ने तयारी पनि मन्त्रालयले गरेको छ ।

मन्त्रालयले रौतहटमा बेपत्ता भएका मध्ये ५ जना सकुशल घर फर्किएको जनाएको छ । बाढीबाट ७९ हजार ८ सय १२ घर पूर्ण क्षति पुगेको, १ लाख ४ हजार ४सय २५ घरमा आशिंक क्षति पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले त्रिपाल, कम्बल, मेट्रेस, चामल, पिठो लगायतका सामान वितरण गर्ने काम भएको तथा विभिन्न जिल्लाहरूमा भएको क्षतिको मूल्याङकनको सन्दर्भमा विषय क्षेत्रगत विस्तृत लेखाजोखा बैठक बसी निर्दिष्ट फाराममा व्यवस्था भए बमोजिम जिल्लाबाटै मानवीय÷भौतिक क्षति मूल्याङ्कन गरी यथासिघ्र पठाउन पनि निर्देशन दिइएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्रालयले बाढी डुवान तथा पहिरो प्रभावित जिल्लाको सङ्ख्या ३० पुगेको र १३५ जनाको मृत्यु भएको तथा ३० अझै वेपत्ता रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *