ओलम्पियन गौरिकाले जितिन् पाँच कीर्तिमानसहित ६ स्वर्णपदक
“
काठमाडौं, भदौ २ । २०औं राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन गौरिका सिंहले पाँच कीर्तिमानसहित ६ स्वर्ण हात पारेकी छन् ।
ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सबै विधामा कीर्तिमानसहित स्वर्णपदक हात पारेकी हुन् । प्रतियोगितामा उनले ६ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् ।
बिहीबार भएको पहिलो प्रतियोगितामा गौरिकाले २ स्वर्ण जितेकी थिइन् । शुक्रबार भएको दोस्रो तथा अन्तिम खेलमा उनले ३ कीर्तिमानसहित ४ स्वर्णपदक हात पारेकी हुन् ।
उनले सय मिटर फ्रिस्टायल, सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मिटर मिक्स फ्रि रिलेमा त्रिभुवन आर्मीका अनुभव सुब्बा, दिलप्प थापामगर र ओसिना भारतीसँग मिलेर स्वर्ण जितिन् ।
उनले पहिलो दिन दुई सय मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।
उनले रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीकारुपमा सहभागिता जनाएकी थिइन् ।
विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पुरस्कार प्रदान गरे ।
“