पेट्रोलियम पदार्थसम्बन्धी विषय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा

काठमाडौं, भदौ २ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणकाबेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेलको सहज ढुवानी, आपूर्ति तथा पाइपलाइन निर्माण एवं भन्डारणबारे गहन छलफल गर्ने कार्यसूची निर्धारण गरेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा शुक्रबार भएको बैठकमा परराष्ट्र र आपूर्ति मन्त्रालयका उच्च अधिकारीले त्यस्तो जानकारी दिएका हुन् ।

परराष्ट्रसचिव शंकरदास बैरागीले नेपाली सवारी–साधनबाट ग्यास ढुवानी गर्ने, ती सवारी–साधनलाई विशेष अनुमतिपत्रको भारत सरकारद्वारा व्यवस्था गर्नेलगायत पेट्रोलियम पदार्थ आपूर्तिसँग सम्बन्धित सबै विषयमा प्रधानमन्त्रीको भ्रमणकाबेला छलफल गरिने बताए ।

उनले भने–‘दिल्लीस्थित नेपाली दूतावासका साथै यहाँस्थित भारतीय राजदूतावासमार्फत् ग्यास ढुवानी र आपूर्तिसँग सम्बन्धित अन्य विषयमा कूटनीतिक प्रयास जारी छ ।’

नेपालका ग्यास व्यवसायीले आफ्नै ‘बुलेट’बाट ग्यास आयात गर्न वर्षौंदेखि गरेको प्रयास भारतीय पक्षबाट कार्यान्वयन नहुँदा उत्पन्न समस्या समाधानमा भएका प्रयासबारे जानकारी दिनेक्रममा सचिव बैरागीले उक्त जानकारी दिएका हुन् ।

त्यसअघि, आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल–भारतबीच पेट्रोलियम पदार्थ आपूर्ति तथा वितरणका निम्ति विगतमा भएका समझदारी एवं सम्झौता केही कार्यान्वयन हुन बाँकी रहेका र केही कार्यान्वयनका चरणमा रहेका बताए ।

अविरल वर्षाका कारण नेपाल र भारतका विभिन्न स्थानमा पहिरो जाँदा पेट्रोलियम पदार्थ ढुवानीमा केही असहज परिस्थिति उत्पन्न भएको जानकारी दिँदै उनले प्रतिकूल अवस्थामा पनि दुवै देशले मिलेर सम्भव भएसम्म अत्यावश्यकीय सामग्री आपूर्तिमा सघाएको बताए ।

सोही मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालयका गतिविधि, भावी योजना, प्राप्त बजेट, मातहतका सार्वजनिक संस्थान तथा विभागका काम–कारबाहीबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *