एक सातादेखि गुल्मीमा विद्युत आपूर्ति बन्द

भदौ २, गुल्मी । एक सातादेखि विद्युत् आपूर्ति बन्द भएपछि मुसिकोट नगरपालिकाको जनजीवन कष्टकर बनेको छ । अविरल वर्षाको कारण विद्युत् गृहमा लागिएको पानीको नहर बगाएपछि वामीमा विद्युत् अवरुद्ध छ । विद्युत् आपूर्ति बन्द हुँदा दुई हजारभन्दा बढी उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य छन् ।

परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीद्वारा सञ्चालित १ सय ३५ किलोवाटको विद्युत् तथा दरमखोला लघुजलविद्युत परियोजनाद्वारा सञ्चालित ८५ किलोवाटको विद्युतमा गत साउन २७ गते राती आएको वर्षाले क्षति पुर्‍याएको छ ।

नगरपालिकाको वडा नं. ७ मा रहेको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित विद्युतको नहरबाट आएको पानी नै अर्काे दरमखोला लघु जलविद्युत परियोजनाद्वारा उत्पादित विद्युत् सञ्चालनमा आउने गरेको छ । गत साउन २७ गते रातीदेखि सो पानी जाने नहर भत्किएको छ । दुवै विद्युतका नहर भत्किएपछि स्थानीयहरु अन्धकारमा जीवन जिउन बाध्य छन् ।

विद्युत् अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको वामी टक्सार लगायत बागलुङको खर्वाङ आसपासका क्षेत्रमा सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । नेपाल टेलिकमको जिएसएम सिडिएमए, ल्याण्डलाइन, वाइम्याक्स, एडिएसएल सेवा ठप्प छ । विद्युत् नहुँदा मोबाइल चार्ज गर्न नपाएर स्थानीयबासी मर्कामा परेका छन् । परोपकारका १ हजार ८ सय र दरमखोला लघुजलविद्युत परियोजनाका ९ सय घरधुरी उपभोक्ताहरु छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *