धुर्मुसको समाजसेवामा अर्को सफलता

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी अर्को सफलता हासिल गर्नुभएको हो । छ महिना अघि आगो शरीरमा सल्केर शरीर जलेको र पैसाको अभावमा उपचार गराउन नसकेकी माझीलाई बिहीबार दिउँसो उद्धार गरी बर्दिवासस्थित जनसेवा अस्पतालमा उहाँले भर्ना गराउनुभएको हो ।

आगलागी पीडितको पीडामाथि फेरि बाढीको पीडा थपिएको सुनेर धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका सीताराम कट्टेल ‘धुर्मुस’ केहीबेर भक्कानिनुभएको थियो । पूर्णरुपमा शरीर जलेको र पैसाको अभावमा समयमा उपचार गराउन नसकेर जीवन मरणको दोसाँध रहेकी महिलामाथि बाढीले गर्दा अर्को पीडा थपिएको देख्न नसकेर धुर्मुस भक्कानिँदै ती महिलाको उपचारमा जुट्नुभएको हो ।

राहत सामग्री लिनजान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफूले वर्षौंअघि दालले पोलेर डेढ महिना थलिएको पीडा सम्झेको धुर्मुसले बताउनुभयो । “आगोले पोल्दाको पीडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पु¥याएको हुँ”, धुर्मुसले पत्रकारसँग भन्नुभयो ।

छव्बिस घर परिवारलाई राहत बाँडेर गाँउ घुम्न जानेक्रममा आफूले रत्नेदेवीलाई विचल्ली अवस्थामा भेटेको धुर्मुसले जानकारी दिनुभयो । पीडित महिलाको हातखुट्टाको नशासमेत खुम्चिसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिवासका होटल व्यवसायी हीरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि बिहीबार उनलाई अस्पतालमा भर्ना गरेको हो ।

अस्पतालमा उपचारपछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चिएका नशालाई सोझ््याउन भने शल्यक्रिया गर्नुपर्ने डक्टरले बताएका छन् । त्यसका लागि उनलाई केही दिनपछि काठमाडौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताउनुभयो ।

तराई मधेशमा बाढीले आफ्नो कहर देखाउँदा मानवीय सेवाका लागि राहत लिएर मधेश झरेका धुर्मुसले राहत बाँड्दै जाँदा ती महिलालाई उद्धार गरेका हुन् । राहत सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका २६ बाढी पीडितलाई बिहीबारै राहत वितरण गरेका छन् ।

यस भन्दा अगाडि धुर्मुसले महोत्तरीको बर्दिवासमा रु चार करोडको लागतमा मुसहर समुदायका लागि एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *