‘नेपालको विकासका लागि चीनको सहयोग निरन्तर’

काठमाडौं, साउन ३१ । नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमन्डलले मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नेतृत्वसँग भेटवार्ता गरेको छ ।

भेटमा दुईपक्षीय आपसी हितकाबारेमा सौहार्दरुपमा वार्तालाप भएको थियो । तत्कालीन ओली नेतृत्वको सरकारका बेला चीनसँग भएका सम्झौताको कार्यान्वयनको सन्दर्भमा छलफल भएको भेटमा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

चिनियाँ उपप्रधानमन्त्री वाङले संविधान निर्माणमा एमालेले खेलेको भूमिकाको प्रशंसा गरेको नेता ज्ञवालीले बताए । उनले नेपालको विकासका लागि चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

एमाले अध्यक्ष ओलीले चीनसँग भएका यातायात तथा पारवहन समझदारी कार्यान्वयन उच्च प्राथमिकतामा रहेको विश्वास दिलाए ।

उनले भने–‘नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध छ, पार्टीकोभन्दा पनि नेपालको राष्ट्रिय नीति हो ।’

चिनियाँ उपप्रधानमन्त्री वाङले हालै नेपालमा आएको बाढी–पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफूहरु नेपाली जनतासँगै रहेको बताए ।

भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, सचिव ज्ञवाली संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेताहरु विष्णु रिमाल र राजन भट्टराईको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *