स्वतन्त्रता दिवसको अघिल्लो दिन नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता
“
नयाँदिल्ली, साउन ३० । भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सोमबार (आज) भारतीय राजधानी नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा सोमबार (आज) उच्च सुरक्षा सतर्कता अपनाइएको भारतीय सन्चारमाध्यमहरुले दिएका छन् ।
भारतको मंगलबार (भोलि) मनाइने स्वतन्त्रता दिवसको अघिल्लो दिन हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखी यो सतर्कता अपनाइएको बताइएको छ ।
नयाँदिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको उल्लेख छ ।
त्यसैगरी, नयाँदिल्ली गेट वरिपरिको रेडफट क्षेत्रमा पनि सुरक्षा कडा पारिएको छ । सो क्षेत्रबाट नै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार (भोलि) सम्बोधन गर्ने विशेष कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीले मंगलबार स्वतन्त्रता दिवसको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्नेे कार्यक्रम रहेको छ ।
प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र विशेष स्वतन्त्रता समारोहको समापनसम्म नै यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन् ।
भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ ।
भारतको अघिल्लो दिन अर्थात अगष्ट १४ मा पाकिस्तान भारतबाट अलग्गिएर छुट्टै राष्ट्र बनेको थियो ।
पाकिस्तानले सोमबार (आज) नै स्वतन्त्रता दिवस मनाएको छ ।
“