स्वीडेनबाट नेपाली कामदार माग, १० हजारमा कुरा नमिल्दा २ लाखको जागिर चट्

साउन ३०, मकालु खबर । युरोपको स्वीडेनबाट १ सय ८५ जना नेपाली कामदारको माग आएको नेपाल वैदेशिक रोजगार सङ्घले जनाएको छ । फलफुल टिप्ने कामका लागि स्वीडेनको एक प्रतिष्ठित कम्पनीले माग पठाएको सङ्घका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । मासिक २ लाख १३ हजार तलब दिने प्रतिबद्धतासहित नेपाली कामदारको माग आएको गुरुङले बताए । तर, माग आएको ५ महिनाभित्र पनि स्वीडेन कामदार पठाउन सकिएको छैन । वैदेशिक रोजगार विभागका कारण कामदार पठाउन नसकिएको गुरुङको गुनासो छ ।

२०७३ साल फागुन १८ गते व्यवसायीहरुले माग पत्र विभागमा बुझाएका थिए । तर, कामदारसँग सेवा सुविधा कति लिने विषयले कामदार स्वीडेन पठाउने प्रक्रिया रोकिएको हो । श्रम मन्त्रालयमा आइतबार बसेको बैठकमा सरकारी अधिकारीले कामदारबाट १० हजार रुपैयाँ मात्र उठाउन भनिएको छ । तर, मन्त्रालयका सरकारी अधिकारीले १० हजारमा कामदार स्वीडेन पठाउन नसकिने अडान राखेका थिए ।

व्यवसायीले निजी लगानीमा बजार प्रबर्धन ,कार्यालय भाड़ा, कर्मचारी तलब भत्ता लगायतका खर्च गरी माग पत्र प्राप्त गर्ने हुँदा जम्मा रु १० हजार सेवा शुल्कबाट व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको थियो । सङ्घले अनुरोध गर्दा कामदार पठाउँदा फाइदा छैन भने स्वीडेन कामदार नपठाए हुन्छ भनेर मन्त्रालयका जिम्मेवार कर्मचारीले आफूहरुलाई भनेको गुरुङले बताए । युरोप लगायत विकसित मुलुकहरूमा बजार प्रबर्धन गर्न जाने र मागपत्र ल्याउने ब्यवसायीहरुको आँट र हौसला अन्त्य भएको सङ्घलाई महसुस भएको उनले बताए ।

खाडीको विकल्पमा नयाँ गन्तव्य मुलुकको खोजी गरी आकर्षक तलब तथा सेवा सुविधामा नेपाली बेरोजगार युवाहरूलाई रोजगारीको अवसरको खोजी गर्न व्यवसायीलाई प्रोत्साहित गर्नुपर्नेमा प्राप्त भएका रोजगारीको अवसरलाई समेत बेवास्ता गरी व्यवसायीलाई अपहेलित गर्ने काम भएको भन्दै गुरुङले आपत्ति जनाए ।

वार्षिक करिब ५ लाख बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारी दिलाई करिब ७ खर्ब रकम रेमिटयान्स भित्त्र्यउने सिङ्गो वैदेशिक रोजगार ब्यवसायीहरुको मानमर्दन गर्न नसक्ने, गलत र अब्यबहारिक अबैज्ञानिक निर्णय लाद्ने अनि ब्यावसायीले सरकारले तोके भन्दा बढी रकम लिई नियम, कानुनको परिपालना गरेनन् भनी आरोप लगाउने कार्य तत्काल बन्द गर्न सङ्घले सरकारसँग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *