कुवेतमा विदेशी कामदारका लागि उपचार शुल्क बढ्यो

साउन २९, मकालु खबर । कुवेतको स्वास्थ्य मन्त्रालयले विदेशी कामदारका लागि नयाँ उपचार शुल्क तोकेको छ । आप्रवासीले सस्तो उपचार सेवाको दुरुपयोग गरेको भन्दै पहिले भन्दा बढाएर नयाँ शुल्क तोकेको मन्त्रालयले जनाएको छ । अहिले तोकिएको शुल्क पहिलेको शुल्क भन्दा कति बढी हो भन्ने खुलाइएको छैन ।

मन्त्रालयलका अनुसार सामान्य परामर्शका लागि २ दिनार (झण्डै ६८० रुपैयाँ) तिर्नुपर्नेछ । आपतकालिन परामर्शका लागि ५ दिनार (झण्डै १७ सय रुपैयाँ) तिर्नुपर्ने छ । तर, सामान्य जाँच गर्ने विरामीले भने १० दिनार (झण्डै ३४ सय रुपैयाँ) तिर्नु पर्नेछ ।

यस्तै, अस्पतालको ‘बेड चार्ज’ पनि बढेको छ । सामान्य वार्डको एक दिनको १० दिनार (झण्डै ३४ सय रुपैयाँ) र आइसियुको भने ३० दिनार (झण्डै १० हजार दुई सय रुपैयाँ) तिर्नुपर्ने छ । सामान्य बाहेका अन्य जाँचको उपचार शुल्क पनि बढेको छ । मन्त्रालयको उपचार सेवा अन्तर्गत दर्ता नभएका विरामीले भने अझ धेरै रकम तिर्नु पर्नेछ । तर, यो शुल्क निजी क्लिनिकहरुको भन्दा २० प्रतिशत कम हो ।

स्वास्थ्य मन्त्रालयले बढाएको शुल्कले विदेशी कामदारलाई असर पर्ने विज्ञहरुले बताएका छन् । त्यसैले, कुवेतको स्वास्थ्य मन्त्रालयले ल्याएको स्वास्थ्य बीमा ‘स्किम’ मा सबै आप्रवासीलाई सहभागी हुन विज्ञहरुको सुझाव छ । बढाइएको उपचार शुल्क आउँदो असोज १५ गतेबाट लागु हुने कुवेत टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *