चितवनमा बाढीको वितण्डा : सौराहा डुबानमा

किशोर खनाल, भरतपुर । लगातार परेको पानीले चितवन जिल्लामा पनि वितण्डा मच्चाउँदै गइरहेको छ । सोमबार बिहानसम्म चितवन जिल्लाबाट पश्चितर्फ भारी वर्षा हुने मौसमविद्को भनाइ आएपछि यहाँ थप सन्त्रास थपिएको छ । चितवनका नारायणी र राप्ती नदीका छेउछाउको भाग डुबानमा परेको छ । देशकै प्रमुख पर्यटकीय नगरी सौराहा पनि डुबानमा परेको छ । नारायणी नदीको छेउछाउका साविक मैघौली गाविसका गाउँहरु पनि डुबानमा रहेका छन् । यतिबेला चितवन प्रशासनले सबैलाई सजग हुन अपिल गरेको छ । पटिहानी र जगतपुरका केही गाउँहरु पनि डुबानमा परेका छन् ।

सौराहाका अधिकांश होटलहरु जलमग्न भएका छन् । सौराहामा आएका करिब एक ८०० पर्यटक अहिले सौराहाबाट बाहिर निस्कन पाएका छैनन् । सौराहा आसपासका गाउँहरु पनि डुबानमा छ । क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले सौराहामा फसेका पर्यटकहरुको उद्धार गर्न पहल भइरहेको बताए । मकवानपुर र चितवनको सिमाना लोथरखोलामा पानीको सतह बढेको छ । नारायणी नदीमा पनि पानीको सतह बढेपछि पश्चिम चितवनका गाउँहरुमा सन्त्रास छाएको छ ।

बाढीले माडी नगरपालिकामा बढी क्षति पुगेको छ । माडीका ३ सयभन्दा बढी घरहरु डुबानमा छन् । माडीवासीहरु रातभर जाग्राम बसेका छन् । करिब एक महिनादेखि माडी अन्धकार छ । ठोरी माडी र नारायणगढ बस सेवा सञ्चालनमा आउन सकेको छैन । माडीमा मुल सडकको दुई वटा पुल बाढीले भत्काएको छ । माडीमा कतिपय स्थानीयले रातभर रुख चढेर ज्यान जोगाएका थिए ।

बाढी प्रभावित क्षेत्रका मानिसहरुलाई सचेत रहन आग्रह गरिएको र बढी जोखिम क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । मेयर ढकालले माडीलाई बाढीबाट जोगाउन दीर्घकालीन योजना ल्याउन आवश्यक भएको बताए । बाढीकै कारणले नारायणगढ मुग्लिन सडकमा ठाउँठाउँमा पहिरो गएपछि सो सडक यतिबेला अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *