बाढी पीडितलाई गृहमन्त्री शर्माको धैर्य गर्न आग्रह : ३० जनाको प्राण पखेरो उड्यो

काठमाडौं, साउन २९ । सरकारले तराईका केही जिल्ला बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझै पनि जोखिममुक्त नरहेको भन्दै विशेष सर्तक रहन सर्वसाधरणलाई आग्रह गरेको छ ।

विभिन्न जिल्लामा नदीको सतहको पानीमा उच्च बहाव आएको तथा सो क्रम केही समय जारी रहन सक्ने भन्दै सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सर्तक रहन आग्रह गरेको हो ।

केन्द्रीय दैविक प्रकोप तथा उद्धार समितिको सिंहदरबारमा सनिबार बसेको आकस्मिक बैठक पछि सरकारले मुलुकका पुर्वी तराई र पश्चिमका केही जिल्लामा आएको बाढी र डुबानमा परेकाको तत्काल उद्धार गरी राहत वितरणमा उच्च प्राथमिकताका साथ उद्धार टोली परिचालन भईरहेको भन्दै कठिन घटीमा राहत सामग्री र उद्धारकार्यमा सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक संघ संस्था लगाएत लाई अपिल पनि गरेको छ ।

खाद्य सामाग्री तथा सरसफाई लगायत कारणले फैलन संक्ने संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी टोली पठाउने तयारी भईरहेको पनि सरकारले जनाएको छ ।

गएराती देखिको भारी बर्षा पछि स्थानीय नदीमा आएको बाढीका कारण झापा ,मोरङ, सुनसरी, सर्लाही, रौतहट, सप्तरी लगायत पुर्वका जिल्ला र पश्चिममा बाँके र दाङ डुबानमा परेका छन् ।

ती जिल्लामा नेपाली सेनाको व्यारेक, विमानस्थल सबै जलमग्न हुनुको साथै सर्वसाधरणका घर डुबानमा परेका छन् भने जनजीवन पुर्णतया अस्तव्यस्त बनेको छ । सरकारले गएराती देखिको बाढीका कारण मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनागरी ३० जनाको ज्यान गई सकेको र केही हराईरहेको पुष्टि गरेको छ ।

त्यसैगरी झापाको मोदनामा र पश्चिम बाँकेमा वाढीमा फसेकालाई उद्धार गर्ने काम भईरहेको पनि सरकारले जनाएको छ । झापाको मदरगाछी र कपनकपास भन्ने स्थानमा पनि उद्धारका लागि टोलि पठाएको जानकारी गराएको छ । बैठकपछि गृहमन्त्री जनार्दन शर्माले बाढी पहिरो र डुबानको समस्या देखिएका जिल्लामा गृह मन्त्रालयले उद्धार तथा राहत उपलब्ध गराउनका लागि टोलि परिचालन गरिएको बताए ।

पश्चिममा ओभरी, गावर र गन्धनी पुल तथा पुर्वको गछिवा पुल क्षतिग्रस्त भएको तथा बागमति सिंचाईको ड्याममा खतरा आउने संकेत देखिएकाले केही डोजर र एक्जाभेटर पठाईएको, बाटोमा भएको अवरोध खोल्ने काम भईरहेको भन्दै गृहमन्त्री शर्माले सबैलाई धैर्य हुन आग्रह गरे ।

उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलि परिचालित रहेको र विमानस्थलमा हेलिकप्टर र तालिम प्राप्त फोर्स कमाण्डको टोलीलाई तयारी अवस्थामा राखिएको भन्दै गृहमन्त्री शर्माले मौसम अनुकुल हुने वित्तिकै सम्बन्धीत स्थानमा परिचालित हुने जानकारी दिए ।

जल तथा मौैसम विज्ञान विभागले पनि बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *