बाढीबाट सप्तरीमा हजारभन्दा बढी घर डुवानमा

सप्तरी , साउन २८ । अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । जिल्लाको खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन् । राजविराजको मुख्य बजार क्षेत्रमा समेत तीन फिटसम्म पानी जमेको छ । सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ३३ ओटा ढोका खोलिएको छ ।

टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि स्थानीयबासिन्दा सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् । बाढीको प्रवाह नरोकिएकाले पीडितलाई थप समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३ सय ५० परिवार घर छाडेर सडक तथा सुरक्षित ठाउँमा बसेकाछन् ।

त्यस्तै कोशीको बाढी पसेर हनुमाननगर कंकालनी नगरपालिका–७ र १४ को रमपुरा मल्हनियाँ र कोइलाडी तिलाठी गाउँपालिकाको तिलाठीमा ३१० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन् । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४०० घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *